खाँडादेवी गाउँपालिकामा ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

  • प्रकाशित मिति: मंगलबार, असार २९ २०७८
  • तामाकोशी

रामेछाप । कृषि क्षेत्रको विकासका लागि जिल्लाको खाँडादेवी गाउँपालिकाले किसान प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिका भित्रका नौ वटै वडाको पहिचान गरी माटो सुहाउदो र किसानको मागमा आधारित कृषि कार्यक्रमलाई अगाडी बढाइरहेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि सामाग्री प्रदान गरेको छ । गाउँपालिकाले किसानको माग अनुसार ९ थान मनिटिलर, १८ थान मकै छोडाउने विद्युतीय मेसिन, पाँच थान घाँस काट्ने मेसिन, ठूलो २७ थान र हाते ९ थान ब्याट्री स्प्रे ७५ प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाका कृषि अधिकृत अमिरा चापागाईले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले खाडाल खन्ने मेसिन एक थान, सिकेन्चर २२ थान , हजारी १२ थान, कृषि उपज राख्ने क्रेट एक सय ४० थान,फलफूल टिप्ने मेसिन ९ थान, दाँते ११ थान, रुंखको हाँगा काट्ने सानो कैचीं १२ थान र ठूलो एक थान, मकै छोडाउने हाते मेसिन ९ थान, डिजिटल ब्यलेन्स तराजु २१ थान र सेलिङ प्लान्ट रुख रोप्ने मिसिन लगायतको सामाग्रीहरु किसानलाई प्रदान गरेको छ । परम्परागत रुपमा गर्दै आएको कृषि प्रणालीबाट कृषि क्षेत्रको विकास सम्भव नभएकाले किसानलाई व्यवसायीक र यान्त्रिकिरणतर्फ प्रेरित गरी आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्न अनुदानमा कृषि सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो । गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने आधार तयार पारिएको छ, कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रमको साथ बजेट निर्माण गरिएको छ, अब कृषि क्षेत्रमा विस्तारै गाउँपालिकाका आत्मनिर्भर हुँदै निर्यात गर्ने अवस्थामा पुग्ने छ अध्यक्ष तामाङले भन्नुभयो ।