मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पताल, चार स्थानमा हेलिप्याड

  • प्रकाशित मिति: सोमबार, असार ७ २०७८
  • तामाकोशी

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पताल र नगरका विभिन्न चार स्थानमा चार वटा स्थानमा हेलिप्याड बनाउँने भएको छ । मन्थली नगरकार्यपालिकाको ४८ औँ बैठकले यस्तो निर्णय गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा सेवाको चाप बढेकोले स्तरोन्नति गर्न लागिएको नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ बेडको मन्थली अस्पतालको रुपमा सञ्चालन गरिने छ । जिल्ला सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवाग्राहीको चाप दैनिक बढ्दै गएको छ । तर आवश्यक पूर्वाधार र जनशक्तिको अभावको कारण प्राथमिक स्वास्थ्य केन्द्रले पर्याप्त मात्रामा सेवा प्रवाह गर्न सकेको छैन । कार्यपालिका बैठकले विपत् जोखिमलाई ध्यानमा राखि जिल्ला विपत् व्यवस्थाप समितिको सिफारिसको आधारमा नगरपालिकाका चार वटा स्थानमा हेलिप्याड निर्माण गर्ने निर्णय पनि गरेको छ । यसैगरी नगरपालिकाका सबै वडालाई पायक पर्ने गरी कम्तिमा चार वटा होल्डिङ सेन्टर निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट तथा कार्यक्रम परिमार्जनसहित पारित गर्दै असार १० गतेको नगरसभामा पेश गर्ने निर्णय गरेको छ ।