काठमाडौं, असार १ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आ.व.को भन्दा सवा ६ अर्ब ठूलो बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ।
प्रदेश सरकारका अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले कूल ५७ अर्ब ७२ करोड नौ लाख रुपैयाँको बजेट ल्याएको छ। प्रदेश सरकारले कोभिड उपचार तथा कोभिड खोपलाई बढी प्राथकिता दिँदै बजेट ल्याएको छ। साथै, सडक पूर्वाधार, शिक्षा पूर्वाभार, पर्यटन पूर्वाधार र स्वास्थ्य पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छ। प्रदेश सरकारले ल्याएको कूल बजेटमा चालु खर्चतर्फ २६ अर्ब एक करोड (४५ प्रतिशत), पुँजीगततर्फ २९ करोड ७० करोड (५१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ दुई अर्ब (४ प्रतिशत) रहेको छ।
सरकारले खर्चको व्यवस्थापनमा भने कर राजस्वबाट २३ अर्ब ८२ करोड, राजस्व बाँडफाँटबाट ६ अर्ब ८२ करोड, संघीय सरकारको वित्तीय हस्तान्तरणबाट प्राप्त हुने १६ अर्ब ९२ करोड, विविध प्राप्ति एक अर्ब पाँच करोड र चालु आर्थिक वर्षको नगद मौज्दात नौ अर्ब १० करोड रुपैयाँ हुने अनुमान गरेको छ।