रामेछापमा अवैध रुपमा बालुवा निकासी : प्रहरी मूकदर्शक

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २७ २०७८
  • तामाकोशी

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं ६ स्थित सिल्लीबजार खोला आसपासको तामाकोशी र सुनकोशी नदी क्षेत्रमा अवैध रुपमा बालुवा तथा ग्रावेल निकासी भैरहेको छ । आई इई भएको स्थानबाट ग्रावेल तथा बालुवा अवैध रुपमा निकासी भैरहदा समेत सरोकारवाला मौन बसेको स्थानीयले आरोप लगाएका छन् । ठेकेदारले सम्झौता विपरीत अवैध रुपमा ग्रावेल तथा बालुवा निकासी गरीरहदा पुलिस, प्रशासन, नगरपालिका र जिल्ला समन्वय समितिले केही गर्न नसकेको स्थानीयको भनाई छ । ग्रावेल तथा बालुवा उत्खनन्को ठेक्का पाएको प्रेरित बालुवा प्रशोधन उद्योग प्रा.लि.ले खुलेआम विना रसिद ग्रावेल तथा बालुवा बिक्री वितरण गर्दै आएको स्थानीय चन्द्र माझीले बताउनुभयो । उद्योगले नदीबाट कर छलेर ग्रावेल तथा बालुवा निकासी गरेको मात्र नभै आफुहरुको नम्बरी जग्गामा समेत असर पुग्ने गरि काम गरिरहेको अर्का स्थानीय लेख बहादुर माझीले बताउनुभयो । स्थानीयको स्वामित्वमा रहेको जमिन खन्न पाइदैन, यस बारेमा हामीसँग सल्लाह, समन्वय केही पनि भएको छैन भनेर गुणासो गर्दा पूलीस प्रशासन लगाएर ठेगान लगाउँछौं भनेर धम्की आउँछ स्थानीय भिम बहादुर माझीले भन्नुभयो । बालुवा उत्खनन् गर्न दिएको ठेक्काबाट प्राप्त हुने रकमको ३५ प्रतिशत रकम उत्खनन्बाट प्रभावित क्षेत्रको विकासको लागि खर्च गर्नुपर्ने सम्झौता भएको भन्ने सुनेको भएपनि ठेक्का लगाउने मन्थली नगरपालिकाले अहिलेसम्म यस बिषयमा केही नगरेको स्थानीय बम बहादुर माझीले बताउनुभयो । ग्रावेल तथा बालुवा कर छलेर निकासी भएको थाहा पाएर पनि प्रहरी चेकपोष्ट सेलेघाटले नदेखेझै गर्ने गरेको स्थानीयको आरोप छ । रसिद नकाटी बालुवा उठाउँनु अवैध भएपनि मासिक रुपमा एकमुष्ट रसिद काट्ने सम्झौता अनुसार अहिले रसिद नकाटिएको बालुवा उत्खनन्का लागि ठेक्का पाएको प्रेरित बालुवा प्रशोधन उद्योग प्रा.लि.का सञ्चालक गणेश माझीले बताउनुभयो । ठेकोदारले सम्झौता विपरीत काम गरेको पाइएकाले कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले बताउनुभयो । कर छलेर बालुवा उत्खनन् भैरहको भन्ने खबर आए पश्चात, सोरोकारवाला निकायको अनुगमनपछि प्रहरीको पत्र अनुसार ठेक्का पाएको कम्पनीलाई कारवाहीका मन्थली नगरपालिकालाई पत्र काटिसकेका छौं समन्वय प्रमुख खड्काले भन्नुभयो । सिल्लीबजार खोला आसपासको तामाकोशी र सुनकोशी नदी किनारको ग्रावेल तथा बालुवा उत्खनन्का लागि प्रेरित बालुवा प्रशोधन उद्योग प्रा.लि.ले एक करोड ७१ लाख रुपियाँमा ठेक्का लिएको थियो । त्यस ठाउँबाट अहिले ठेकेदारले दैनिक एकसय टिप्पर बालुवा तथा ग्रावेल निकाल्ने गरेको छ । तर ठेकेदारले एक टिप्परको पनि राजश्व रसिद काट्ने गरेको छैन ।