रामेछाप । मुलुक कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरसँग लडिरहेको अवस्थामा जिल्लाका स्थानीय सरकारले पूर्वाधार निर्माणका काम सञ्चालन गरिरहेका छन् । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाको कार्यान्वयन सँगै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै विकास निर्माणका कामलाई निरन्तरता दिइरहेको स्थानीय तहको दावि छ । निषेधाज्ञाको समयमा विशेष गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत खानेपानी, सडक स्तर उन्नति लगायतका क्षेत्रमा काम जारी छ । यो अवधिमा जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा खानेपानी तथा सड स्तर उन्नतिको काम भएका छन् । निषेधाज्ञाको समयमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत खानेपानी इनार निर्माण र सडक स्तर उन्नतिको काम सम्पन्न गरिएको वडा नं ३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष कार्कीका अनुसार वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत दुई लाख रुपियाँ बजेटको डफ्खा खानेपानी इनार निर्माण, पाँच लाख रुपियाँ बजेटको डफ्खा लाप्का भलाखर्क सडक स्तर उन्नति र दुई लाख रुपियाँ बजेटको वडा कार्यलय जाने सडक स्तर उन्नति गर्ने काम सम्पन्न भएका छन् । गाउँपालिकाभित्र पुराना पूर्वाधार निर्माणका काम सञ्चालन भैरहेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो । गाउँपालिकामा सक्न बाँकी पुराना विकास निर्माणको कामहरु स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सञ्चालन गरिएको भएपनि नयाँ विकास निर्माणका कामहरु भने ठप्प नै छ अध्यक्ष तामाङले भन्नुभयो । राष्ट्रिय गौरवका आयोजना , राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र जिल्लामा सञ्चालित आयोजनाहरुको सामाग्री ढुवानीका लागि प्रयोगहुने साधनहरु र त्यस्ता आयोजनाहरुमा स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पूर्ण रुपमा पालना गरेर काम सञ्चालन गर्नेगरी जिल्लाभर जेठ २६ गते मध्यरातसम्म निषेधाज्ञा लगाइएको छ ।
निषेधाज्ञाले रोकेन विकासको काम
- प्रकाशित मिति: आइतबार, जेष्ठ २३ २०७८
- तामाकोशी