काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना अर्को सातादेखि सुरु हुने बहुचर्चित टि२० ब्लास्ट गुमाउने भएका छन् ।
सन्दीप टि२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारी गरि रहेका थिए । तर नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण टि२० ब्लास्ट गुमाउने लगभग निश्चित जस्तै भएको सन्दीपका मेनेजर रमण शिवाकोटीले जानकारी दिएका छन् ।
टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ। तर नेपालमा दोस्रो लहरको कोरोना महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । ठूलो प्रयास र प्रतीक्षापछि शुक्रबार भिषा आएपनि धेरै ढिलो भई सकेको छ ।
१४ दिन क्वारेनटाइनमा बस्दा सन्दीपले आधा भन्दा बढी खेल गुमाउने छन् । वोर्सेस्टरशायरले सन्दीपको स्थानमा अर्को खेलाडी ल्याउने तयारी गरि रहेको बुझिएको छ ।