विश्वकपकप छनोटमा आजः नेपाल र चाइनिज ताइपेई भिड्दै

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २० २०७८
  • तामाकोशी

काठमान्डौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत आज नेपाल र चाइनिज ताइपेई भिड्दै छन् । नेपाली समय अनुसार राति पौने १० बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा ताइपेईविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदान उत्रँदैछ ।

नेपालले घरेलु भूमिमा खेल्नुपर्ने खेल कुवेतमा खेल्न लागेको हो । कोरोना महामारीका कारण एएफसीले समूह ‘बी’ का खेल न्युट्रल भूमिका रूपमा कुवेतमा आयोजना गर्ने निर्णय गरेको थियो । नेपालले कुवेतविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल भने दशरथ रंगशाला निमार्ण सम्पन्न नभएका कारण भुटानमा खेलेको थियो । विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेका दुवै टोलीको लक्ष्य एसियन कपको तेस्रो चरणमा पुग्ने हुने छ ।



नेपालले बाँकी ३ खेलमध्ये जित हात पार्न सहज हुने टिम भनेको यही चाइनिज ताइपेई नै हो । फिफा वरियतामा आफूभन्दा ३० स्थान माथि रहेको चाइनिज ताइपेईविरुद्ध नेपालले हालसम्म २ वटा मात्र खेल खेलेको छ । जसमा १ खेल आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको थियो । नेपाल फिफा वरीयताको १७१ औँ स्थान छ । यस्तै, चाइनिज ताइपेई नेपालभन्दा ३० स्थानमाथि १४१औँ स्थानमा छ ।

सन् २०१९ मा ताइपेईमै भएको पहिलो भेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । समूह ‘बी’ मा शतप्रतिशत जित निकालेको अस्ट्रेलिया ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ५ खेलबाट समान १० अंक जोडेका कुवेत दोस्रो र जोर्डन तेस्रो स्थानमा छन् । ५ खेलमा ४ हार र १ जित निकालेको नेपाल ३ अंकका साथ चौथो स्थानमा रहँदा जितविहीन चाइनिज ताइपेई अन्तिम स्थानमा छ ।