सेयर बजार परिसूचक २८ सय नजिक

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ५ २०७८
  • तामाकोशी

काठमान्डौं । साताको तीनै दिन लगातार बढेको सेयर बजार परिसूचक २८ सय अंक नजिक पुगेको छ । बैंकको ब्याजदर कम हुनु, बैंकमा तरलता बढ्दै जानु तथा अनलाइन कारोबारमा सुधारजस्ता कारणले सेयर बजार लगातार बढेको लगानीकर्ताको भनाइ छ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३४।६ अंकले बढेर २७९३।८९ को एतिहासिक अंकमा उक्लिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब १ प्रतिशतले बढेर ५०० अंक नजिक पुगेको छ ।

मंगलबारको बढोत्तरीसँगै नेप्से परिसूचक हालसम्मकै उच्च अंकमा उक्लिएको छ भने कारोबार रकम तथा सेयर कारोबार सख्या पनि हालसम्मकै उच्च रहेको छ । मंगलबार दिनभर २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार कित्ता सेयर ११।३५ अर्बभन्दा बढी रुपैयाँ बराबरमा किनबेच भएको छ ।
यसअघि २०७७ माघमा १० अर्ब ५७ करोड बराबरको सेयर कारोबार भएको थियो । मंगलबार उत्पादनमूलक समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक बढेको छ । निषेधाज्ञाको समयमा समेत होटल र पर्यटन समहूको परिसूचक सबै भन्दा धेरै ६।१५ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक ५।८७, जलविद्युत समहूको परिसूचक ३।४९, विकास बैंक समूहको परिसूचक ३।३३, लगानी समूहको परिसूचक २।८७ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, व्यापार, लघुवित्त, बीमा समूहको परिसूचक एक प्रतिशत माथिले बढ्दा बाँकी समूहको परिसूचक सामान्य बढेको छ ।



नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार हाल निशेधाज्ञाका कारण लगानी गर्ने अन्य विकल्प नभएका कारण लगानीकर्ताहरुसँग पैसा पर्याप्त रहेको आजको कारोबार दैनिकमा खबर छ ।