आज मध्यरातदेखि रामेछापमा जारी निषेधाज्ञालाई थप कडा पारिदै

  • प्रकाशित मिति: शुक्रबार, बैशाख २४ २०७८
  • तामाकोशी

रामेछाप । कोरोना भाइरस कोभिड-१९ सङ्क्रमण दर झन बढेपछि रामेछाप जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिदै छ । जिल्ला सदरमुकाम मन्थलीसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा वैशाख २० गते सोमबार मध्यरातिदेखि जारी निषेधाज्ञामा वैशाख २४ गते शुक्रबार मध्यराति १२ः०० देखी थप कडाइ गरिने भएको हो । जिल्लामा कोरोनाका बिरामीहरु बढीरहेकाले यसअघि निषेधाज्ञा जारी गरिएको ठाउँहरुमा जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले थप कडाइ गर्ने निणर्य गरेको हो । वैशाख २४ गते शुक्रबार मध्यराति १२ः०० देखी खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी र ग्यास लगायतका अत्यावश्यक सामाग्री पाइने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी बिहान ६ः००बजेदेखि ९ः०० बजेसम्म एक सिफ्टमा मात्रै सञ्चालन हुनेछन् । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारीबाट बिहान १०ः०० देखी मध्यान्ह १२ः०० सम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाउने छन् । यसअघि अत्यावश्यक सामाग्री पाइने पसलहरु बिहान ६ः००बजेदेखि ९ः०० बजेसम्म र साँझा ५ः०० बजेदेखि ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुँदै आएको थियो भने बैङ्क तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गरिरहेका थिए । विहीबारसम्म जिल्लामा ३०४ जना कुल कोरोनाका सङ्क्रमितक छन् । यसमध्ये २२६ जना निको भएर डिस्चार्ज भइसकेका छन् । विहीबारमात्रैे ३१ जनामा कोरोना सङ्क्रमण भएको थियो । कोरोना सङ्क्रमण भएका मध्ये पाँचजना जिल्ला अस्पतालको आइसोलेसन र ७१ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।