रामेछापमा थप १४ जनामा कोरोना सङ्क्रमण : सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुग्यो

  • प्रकाशित मिति: बुधबार, बैशाख १५ २०७८
  • तामाकोशी

रामेछाप । वैशाख १५ गते,
रामेछापमा बुधबार थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २६ जना पुगेको छ । मंगलबार २२ जनाको स्वाब पीसीआर परीक्षणका लागि सिन्धुली कोभिड अस्पलतालमा पठाइएकोमा १४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार बुधबार कोरोना सङ्क्रमण हुनेहरुमा एकजना जिल्ला अस्पताल रामेछापमा कार्यरत महिला स्वास्थ्यकर्मी , प्रहरीमा हिरासतमा रहेका ५ जना पुरुष र ८ जना तामाकोशी अस्पतालमा मन्थलीमा उपचाररत बिरामी छन् । यसअघि वैशाख १२ गते आइतबार गोकुलगङ्गा गाउँपालिकाका दुईजना महिला शिक्षक र चार जना विद्यार्थी सहित ११ जनामा कोरोना सङ्क्रमण भएको थियो । बुधबार थप भएका १४ जनासहित जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २५० जना पुगेको छ । यसमध्ये २२४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।