रामेछाप । वैशाख १० गते,
रामेछाप जिल्ला स्तरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कोरोना रोकथाम ,नियन्त्रण , उपचार निगरानीका लागि विभिन्न २१ बँुद्दे निणर्य गरी कार्यान्वन गर्न अनुरोध गरेको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र रामेछापका संयोजक एवमु प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जुलुस,आमसभा, खेलकुद लगाएत मानिसहरु भेला हुने अन्य सवै कार्यलाई बैशाख मसान्तसम्म रोक लगाउने ,विवाह, व्रतबन्ध जस्ता धार्मिक एवम् साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने लगाएका २१ बुँद्दे निणर्य गरेको हो । बैठकले धार्मिक तिर्थस्थल, मठ मन्दिर, गुम्बा, चर्च, मस्जिदहरुमा जनस्वास्थ्यका मापदण्ड पालनना गरी बैशाख मसान्तसम्म नित्य पूजा, ध्यान, प्राथना मात्रै गर्न पाउने ,सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, तालिम, प्रशिक्षण, घुम्ती शिविर, खेलकुद जस्ता सबैखाले क्रियाकलापमा वैशाख मसान्तसम्म रोक लगाउने निणर्य गरेको छ । जिल्लामा सञ्चालित होटल तथा रेष्टुरेण्टहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मा मात्रै सञ्चालन गर्ने, बाहिरी मुलुकबाट जिल्ला भित्रिने व्यक्तिहरु १० दिनसम्म अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने,सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, सबै यात्रुलाई मास्कको अनिवार्य प्रयोग गराउनुपर्ने, सवारी साधनको ढोकामा र भित्र स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने बैठकले निणर्य गरेको छ । बैठकले कारोना रोकथाम, नियन्त्रण, उपचार र अनुगमनका लागि सवै स्थानीय तहले १५ वेड क्षमता भएको सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग सङ्क्रमितको उपचारका लागि सम्झौता गर्नुपर्ने, अनुगमन गर्नुपर्ने र शोधभर्ना भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गर्नुपर्ने, द्रूत प्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा राख्नुपर्ने, यसअघि स्थापना गरिएका क्वारेन्टिन, आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने र मापदण्डयुक्त एक/एक वटा क्वारेन्टीनको अनिवार्य व्यवस्था गर्नुपर्ने समितिले निणर्य गरेको छ । विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने जनस्वास्थ्य सुरक्षा सतर्कताको मापदण्ड पालना गरेर सञ्चालन गर्ने, जिल्ला प्रवेश नाकाहरुमा सम्बन्धित स्थानीय तहहरुले हेल्थ डेक्सको स्थापना गरी स्वास्थ्य जाँच र अभिलेख राख्ने व्यवस्था पनि मिलाउनु पर्ने बैठकले निणर्य गरेको छ । सरकारले जारी गरेका मापदण्ड पालना गर्न बेवास्ता गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ ।
