समावेशी बचत तथा ऋण सहकारी संस्था चिसापानीको ११ औँ स्थापना दिवस

  • प्रकाशित मिति: मंगलबार, बैशाख ७ २०७८
  • तामाकोशी

रामेछाप । वैशाख ७ गते,
रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा रहेको समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ स्थापना दिवस मनाइएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो । सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको स्थापना दिवसको प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का रहनु भएको थियो । स्थापना दिवसलाई सम्बोधन गर्दै समन्वय प्रमुख खड्काले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई मजबुद बनाउन त्यस सहकारीले उल्लेख्य काम गरेको बताउनुभयो । उहाँले ग्रामीण कृषि, पशु पालन र घरेलु उद्योगका क्षेत्रमा थप लगानी गर्न सहकारी संस्थाका प्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो । संस्थाका सचिव सरिता श्रेष्ठले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष भीम कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभालाई मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीका अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका उपाध्यक्ष कैलाश खत्री, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ, सहकारीका व्यवस्थापक अर्जुन श्रेष्ठ, सहकारीका पूर्व अध्यक्ष भीमदास श्रेष्ठ, भीमेश्वर रुद्र माध्यमिक विद्यालय चिसापानीका प्रधानाध्यापक शंकर प्रसाद ढुङ्गेल, विद्याश्रम आधारभूत विद्यालयका प्रधानाध्यापक रसोक कुमार श्रेष्ठ, चिसापानीगढी संरक्षण समितिका अध्यक्ष श्याम कुमार श्रेष्ठ लगायतले सम्बोधन गर्दै सहकारी क्षेत्रका महत्वको बारेमा धारणा राख्नु भएको थियो । वि.सं. २०६७ सालमा स्थापना भएको समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चिसापानीको कुल पुँजी पाँच करोड ८० लाख ५० हजार २८५ रुपियाँ रहेको छ ।