रामेछाप । बैशाख ६ गते,
रामेछापका विभिन्न स्थानमा रहेका सामुदायिक वन उपभोक्ता समुहलाई सामुदायिक वन कार्ययोजना हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय र वातावरण संरक्षण परियोजना रामेछापले सोमबार एक कार्यक्रमको आयोजना गरी विभिन्न छ वटा सामुदायिक वन उपभोक्ता समुहलाई सामुदायिक वन कार्ययोजना र विधान हस्तान्तरण गरेको हो । रामेछाप नगरपालिका अन्र्तगत विभिन्न स्थानमा रहेका काक्तिके सामुदायिक वन उपभोक्ता समुह ,थामडाँडा सामुदायिक वन उपभोक्ता समुह,टाहार सिमत्ती सामुदायिक वन उपभोक्ता समुह , भोर्ले सामुदायिक वन उपभोक्ता समुह ,गोल्माटार सामुदायिक वन उपभोक्ता समुह र सत्तनदेवी सामुदायिक वन उपभोक्ता समुहलाई डिभिजन वन कार्यालयका प्रमुख कृष्णराज न्यौपानेले कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।
कार्ययोजना हस्तान्तरण गर्नुहुँदै डिभिजन वन कार्यालयका प्रमुख न्यौपालेले वन कार्ययोजनामा लेखिएका कुरालाई अक्षरस पालना गरी वन संरक्षणमा लाग्न वन उपभोक्ता समुहहरुलाई आग्रह गर्नुभयो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शङ्करराज गिरीले उपभोक्ता समुहलेनै प्रयाप्त छलफल तथा परामर्श गरेर तयार पारेका वन कार्ययोजनाले वन संरक्षणमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । वातावरण संरक्षण परियोजनाका परियोजना संयोजक दीपक चैलागाईले रामेछाप नगरपालिका र मन्थली नगरपालिकाका १९ वटा सामुदायिक वन उपभोक्ता समुहहरुलाई वन कार्ययोजना हस्तान्तरण गर्ने योजना अनुरुप रामेछाप नगरपालिकाका छ वटा समुहलाई वन कार्ययोजना हस्तान्तरण गरिएको बताउनुभयो । वन कार्ययोजनाले समुदायिक वन संरक्षणमा ठुलो भूमिका खेल्ने उहाँको विश्वास छ । वन कार्ययोजना हस्तान्तरण कार्यक्रम वतावरण संरक्षण परियोजनाका फोकल पर्शन एवं सृजनशील युवा समाजका अध्यक्ष भुवन कुमार श्रेष्ठको अध्यक्षता र डिभिजन वन कार्यालय रामेछापका प्रमुख कृष्णराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।
