शैलुङ्ग घुम्न आउने पर्यटक बढे

  • प्रकाशित मिति: आइतबार, बैशाख ५ २०७८
  • तामाकोशी

रामेछाप । बैशाख ५ गते,
विगतका वर्षको तुलनामा यस वर्ष शैलुङ्ग घुम्न आउने पर्यटक निक्कै बढेको छ । सहज सडकको पहुँच भएपछि रामेछाप जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल शैलुङ्ग घुम्न आउने पर्यटकको संख्या बढेको हो । विगतका वर्षको तुलनामा यस वर्ष शैलुङ्ग आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको शैलुङ्ग दोरम्बा गाउँपालिका-१ शैलुङ्गका दावासङ्बु शेर्पाले बताउनुभयो । रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, भक्तपुर, काठमाडौ तथा तराईका विभिन्न जिल्लाका मानिस नयाँवर्षमा शैलुङ्ग घुम्न आएको उहाँको भनाई छ । रमणिय प्राकृतिक वातावरण तथा मनोरम दृश्यावलोकनालका लागि शैलुङ्ग जिल्लाकै अब्बल मानिन्छ । प्राकृतिक रुपमा बनेका सयभन्दा बढी थुम्काले शैलुङ्ग पुग्ने सबैको मन लोभ्याउँछ । अहिले रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको दुम्जा हुँदै रामेछापको लुबु तथा सित्खाबाट समेत शैलुङ्ग पुग्ने सडक जोडिएको छ । त्यस्तै सिन्धुपाल्चोकको मुडेबजारबाट दोलखा हुँदै शैलुङ्ग आउने सडक पनि बनेको छ । विभिन्न ठाउँबाट शैलुङ्ग आउने सडक मार्ग बनेको कारण पनि शैलुङ्ग आउने पर्यटकको वृद्धि भएको छ । शैलुङ्गमा पर्यटन प्रवर्धनको लागि शैलुङ्ग दोरम्बा गाउँपालिकाले पनि विभिन्न काम गर्दै आएको छ । गाउँपालिकाले शैलुङ्ग महोत्सव आयोजना गरी शैलुङ्गलाई चिनाउने काम गरेको गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानले बताउनुभयो । शैलुङ्गमा पर्यटन प्रवर्धनका लागि आवश्यक पुर्वाधार निर्माण गर्ने कार्यमा गाउँपालिका लागेको अध्यक्ष मोक्तानको भनाई छ ।