रामेछाप । चैत २६ गते ,
अवैध रुपमा जडिबुट्टी (झ्याउ) बोकेको ट्रक सहित तीनजनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा जडिबुट्टी ओसारपसारमा संलग्न जिल्लाको गोकुलगङ्गा गाउँपालिकाका एक जना सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । गोकुलगङ्गा गाउँपालिका वडा नं ३ रस्नालुका २४ वर्षीय दिलबहादुर तामाङ, सुनसरीको धरान नगरपालिका वडा नं. १५ का ५३ वर्षीय कल्पना राई र सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ का ४५ वर्षीय अजाद अन्सारीलाई रामेछाप प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी खिम्तीले गोकुलगाङ्गा गाउँपालिका वडा नं ३ भुजीडाँडाबाट अवैध रुपमा सुनसरीतर्फ लैजाँदै गरेको बा ४ ख ९७९० नम्बरको ट्रक चेक जाँच गर्नेक्रममा लिखुतामाकोशी गाउँपालिका खिम्तीबाट बुधबार राति २१ बोरा जडिबुट्टी (झ्याउ) फेला पारेर चालक तामाङसहित राई र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताउनुभयो । अवैध जडिबुट्टी (झ्याउ) बोकेको ट्रक र पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय राखेर थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।
रामेछापमा अवैध जडिबुट्टी (झ्याउ) बोकेको ट्रक सहित तीनजना पक्राउ
- प्रकाशित मिति: बिहिबार, चैत्र २६ २०७७
- तामाकोशी