हिमाल तथा पहाडका जिल्ला नभनी स्थायी बसोबासका आधारमा जनगणना गर्नुपर्नेमा जोड

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २० २०७७
  • तामाकोशी

रामेछाप । चैत २० गते ,
रामेछापका सरोकारवालाले हिमाल तथा पहाडका जिल्ला भनेर जनगणना गर्न नहुनेमा जोड दिएका छन् । सदरमुकाम मन्थलीमा केन्द्रीय तथ्याङ्क विभागले विहीबार र शुक्रबार आयोजना गरेको जिल्ला स्तरीय सचेतना गोष्ठीमा सहभागिहरुले यसो गरिए निर्वाचनदेखि विकासका कार्यक्रममा समेत प्रभाव पार्ने बताएका हुन् । हिमाल तथा पहाडका जिल्ला नभनी स्थायी बसोबासको आधारमा गणना गरिनुपर्ने सरोकारवालाहरुको सुझाव छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले बसोबासको आधारमा जनगणना गरी त्यसैको आधारमा विकासका कार्यक्रम जाँदा गाउँका विकास पछाडि परेको बताउनुभयो । जनसङ्ख्याकै आधारमा विकास अनुदान प्राप्त हुने, वडा तथा निर्वाचन क्षेत्र तय हुने भएकोले बसोबासको आधारमा जनगणना गरिँदा वडा संख्या, निर्वाचन क्षेत्र तथा विकास अनुदानका बजेट समेत प्रभावित हुने मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले बताउनुभयो । जिल्ला स्थित विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधिहरुले पनि बसोबासको आधारमा गरिने पुरानै प्रकृतिको जनगणना वैज्ञानिक नभएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले सरोबारवालाबाट आएका सुझाव व्यवहारिक र उपयोगी भएकोले नीतिगत तहमा सुझाव पुर्याएर छलफल हुन आवश्यक रहेको बताउनुहुँदै यसमा जिल्ला जनगणना कार्यालय र तथ्याङ्क विभाग समेत गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय तथ्याङ्क विभागले आगामि जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना २०७८ गर्दै छ । जनगणनाको पूर्वतयारी स्वरुप गणक छनोट, कार्यालय स्थापना, अभिमुखीकरण तथा सचेतना कार्यक्रमहरु विभागले सञ्चालन गरिरहेको छ ।