रामेछाप । चैत १३ गते,
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका अब समृद्धिको बाटोमा लागेको बताउनुभएको छ । नगरपालिकालाई समृद्ध बनाउनकै लागि आवश्यक अध्ययन अनुशन्धान गरेर कृषि , पशु र लघु उद्यम विकासलाई जोड दिइएको उहाँको भनाई छ । रामेछाप उद्योग बाणिज्य संघले मन्थलीमा आयोजना गरेको स्थानीय कर, राजश्व तथा दर्ता नविकरण उद्यमशिलता सम्बन्धी तीनदिने अभिमुखिकरण तालिमको शुक्रबार समापन गर्नुहुदै नगरप्रमुख बस्नेतले यस्तो बताउनुभएको हो । नगरप्रमुख बस्नेतले नगरभित्रका ५१ हजार जनसंख्यालाई बिजुली बत्तिको पहँुचमा पुर्याई उज्यालो नगरका रुपमा विकास गरिएको बताउनुभयो । नगरपालिकाभित्र २२ वटा स्वास्थ्य संस्थाबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरिरहेको , नगरपालिकाभित्रका सवै वडा कार्यालयसम्मका सडक सुधार गरी कालोपत्र गर्ने अभियान सुरु गरिएको , नगरको शिक्षा क्षेत्रमा व्यापक सुधार गरिएको र मन्थलीलाई शैक्षिक हबका रुपमा विकास गर्न लागि परेको उहाँले बताउनुभयो । नगरपालिका मासु र अण्डामा आत्र्मनिर्भर बनिसकेकाले अन्य धेरै कुराहरुमा पनि आत्मनिर्भर बनाउने नगरले योजना बनाएको नगर प्रमुख बस्नेतको भनाई छ । नगरप्रमुख बस्नेतले जाँगर भएका नागरिकलाई व्यवसायीक बनाउनका लागि नगरपालिकाले आवश्यक सिप र पुँजि प्रदान गर्ने बताउदै नगरपालिकाको अर्थतन्त्र विकासको मेरुदण्ड बन्न नगरभित्रका व्यवसायीहरुलाई आग्रह गर्नुभयो । तालिमका प्रशिक्षक एवम् मन्थली नगरपालिकाका उपसचिव हेमन्त कुमार बुढाथोकी र रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव घिमिरेले तीनदिने तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । मन्थली नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा यहि चैत ११,१२र १३ गते तीनदिन सञ्चालन भएको तालिममा मन्थली नगरपालिका अन्तर्गत वडा नं १ देखी १४ नं वडासम्मका रामेछाप उद्योग बाणिज्य संघमा आवद्ध भएका एकसय ८० जना भन्दा बढी व्यवसायीहरुले सहभागिता जनाएको रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नबिन केसीले बताउनुभयो ।
