आठ महिनाको अवधिमा रामेछापमा २२ वटा घरेलु हिंसा

  • प्रकाशित मिति: आइतबार, चैत्र ८ २०७७
  • तामाकोशी

रामेछाप । चैत ८ गेत,
रामेछापमा जिल्लामा आठ महिनाको अवधिमा घरेलु हिंसाका २२ वटा घटना भएका छन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि हालसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय रामेछापमा घरेलु हिंसा सम्बन्धी २२ वटा उजुरी परेको छ । जिल्ला प्रहरीमा घरेलु हिंसा सम्बन्धी उजुरी १५ वटा र ठाडो निवेदन ७ वटा गरी कुल २२ वटा घटना प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार जिल्ला प्रहरीमा आएका घर झगडा र आर्थिक हिंसाका १५ वटा उजुुरीमा १० वटाको मिलापत्र मार्फत टुंग्याइएको छ भने चार वटा उजुरीको फैसला हुन बाँकी रहेका छ । यस्तै, गालीगलौज सम्बन्धी तीन वटा र कुटपिट सम्बन्धी चार वटा गरी जम्मा ७ वटा ठाडो निवदेन परेकोमा पाँचवटाको मिलापत्र मार्फत टुंग्याइएको र दुई वटा निवेदन उपर फैसला हुन बाँकी रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । गत आर्थिक २०७६÷०७७ मा घरेलु हिंसासम्बन्धी घटनाका ३७ वटा उजुरी र १६ वटा ठाडो निवेदन गरी कुल ५३ वटा घटना प्रहरीमा दर्ता भएको थियो । प्रहरीका अनुसार ३७ वटा उजुरी मध्ये २८ वटा उजुरीको मिलापत्र गरी टुंग्याइएको थियो भने बहुविवाह सम्बन्धी एउटा मुद्दा अदालत पठाइएको थियो । यस्तै, हिंसा सम्बन्धी घटनाको विरुद्धमा परेका २४ वटा ठाडो निवेदन मध्ये १६ वटाको मिलापत्र गरिएको र तीन निवेदन हालसम्म टुंगिन बाँकि रहेको सूचनाअधिकारी श्रेष्ठले उहाँले बताउनुभयो ।