गोकुलगंगा गाउँपालिकामा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन

  • प्रकाशित मिति: बुधबार, चैत्र ४ २०७७
  • तामाकोशी

रामेछाप । चैत ४ गते,
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसलापछि नेकपा एमाले ब्युँतिएसंगै एमाले रामेछापले जिल्लाका पालिका तथा वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने अभियानलाई जोड दिएको छ । पार्टी एकता भएको ४१ महिनापछि गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग–अगल पार्टी भएको फैसला गरेको थियो । सर्वाेच्वको फैसला संगै एउटै पार्टी नेकपाबाट दुईवटा पार्टी भएका दुवै पार्टीले अहिले जिल्लाको वडा तहसम्म पार्टीको कार्यालय राख्ने कामलाई प्राथमिकता दिएका छन् । नेकपा एमाले रामेछापले बुधबार जिल्लाको गोकुलगंगा गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरेको छ । गाउँपालिकाको भिमसेनथान रस्नालुमा जिल्ला तथा गाउँपालिका स्तरका विभिन्न नेताहरुको उपस्थितिमा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो । पार्टी कार्यालय उद्घाटन गर्दै एमाले रामेछापका अध्यक्ष श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, नेता प्रकाश कुमार कार्की , गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवार लगायतले अब आफुहरु नेकपा एमालेलाई जनताको राम्रो पार्टी बनाउनतिर लाग्ने बताउनुभयो । धेरै कारणले लामो समय पार्टीले गतिविधि सञ्चालन गर्न नसकेको भन्दै नेताहरुले अब विगतका कमिकमजोरीलाई सच्याएर नागरिकको घरघरमा जानुपर्नेमा जोड दिनुभएको थियो । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारको अध्यक्षता र एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।