ट्राफिक नियम बारे जानकारी सहित विद्यार्थीलाई सडकमा हिड्न सिकाउदै ट्राफिक प्रहरी

  • प्रकाशित मिति: मंगलबार, चैत्र ३ २०७७
  • तामाकोशी

रामेछाप । चैत ३ गते,
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले विद्यार्थीहरुलाई सुरक्षित रुपमा सडकमा हिँड्न सिकाउने अभियान सुरु गरेको छ । जथाभावी सडकमा हिँड्दा हुनसक्ने सम्भावित जोखिमतालाई ध्यानमा राखेर विद्यार्थीलाई स्कुलदेखि नै ट्राफिक नियमको बारेमा जानकारी गराउनुका साथै सडकमा हिँड्न कसरी सुरक्षित रहने भन्ने बारेमा सचेतना सहित मंगलबारबाट विद्यार्थीहरुलाई सडकमा हिँड्न सिकाउने अभियानको थालनी गरेको हो । सदरमुकाम मन्थलीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम र सुरक्षाका बारेमा जानकारी सहित सडकमा सुरक्षित तरवमा हिँड्न सिकाउने अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताउनुभयो । सकडमा सवारी चाप बढेको बेलामा विद्यार्थीहरु जथाभावी रुपमा हिँड्न दुर्घटनाको जोखिम बढ्ने सम्भावना रहेकाले यसलाई कम गर्नका लागि विद्यार्थीहरुलाई सडक छेउबाट हिँड्न सिकाउने अभियान सुरु गरिएको उहाँको भनाई छ । बजार क्षेत्रमा ट्राफिक नियमको पालना सङ्गै विद्यार्थीहरुलाई सुरक्षित तरवमा हिँड्न आग्रह गर्दै ट्राफिक प्रहरीले विभिन्न विद्यालयको हाताभित्र तथा सडकहरुमा सुरक्षित रुपमा सडक छेउबाट हिँडिरहेका विद्यार्थीहरुको फोटो सहितको सडकमा हिंड्दा सडक छेउबाट हिँड्ने गरौं लेखिएको चेतनामूलक बोर्डहरु पनि राखेको छ । मन्थली माध्यामिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहालले ट्राफिक प्रहरीको विद्यार्थीलाई सडकमा सुरक्षीत रुपमा हिँड्न सिकाउने र ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने अभियान निकै राम्रो भएको बताउनुभयो । सानो तर धेरै सवारी तथा ढुवानीका साधन गुड्ने मन्थली बजारको सडक पेटीबाट सुरक्षित र व्यवस्थित तरवले हिड्न विद्यार्थीहरुलाई सिकाउने यो अभियानले विद्यालयमा पढ्ने विद्यार्थी र उनका अभिभावकलाई थप सुरक्षित बनाएको प्रधानाध्यापक दहालको भनाई छ । उहाँले विद्यालयमा सिकाउने हरेक कुरालाई विद्यार्थीले सही मानेर सिक्ने भएकोले समय समयमा ट्राफिक नियम र सुरक्षाका बारेमा विद्यालयमै आएर जानकार गराउन ट्राफिक प्रहरी कार्यालय रामेछापलाई आग्रह गर्नुभयो ।