सेलेघाट–साँघुटार सडक कालोपत्रे गर्दा लापर्वाही गरिएको भन्दै प्रशासनको ध्यानाकर्षण

  • प्रकाशित मिति: आइतबार, चैत्र १ २०७७
  • तामाकोशी

रामेछाप । चैत १ गते,
रामेछापको सेलेघाट–साँघुटार सडक कालोपत्रे गर्ने क्रममा निमार्ण ब्यवसायीले लापर्वाही गरेको स्थानीयले आरोप लगाएका छन् । ठेकेदारका लापर्वाहीका कारणले जनस्तरमा ठूलो समस्या सिर्जना गरेको भन्दै आइतबार जिल्ला प्रशासन कार्यलयलाई स्थानीयले ध्यानाकर्षण पत्र बुझाएका छन् । रामेछाप नगरपालिका वडा नं. २ देउरालीका वडा सदस्य सुशीलहरी बख्रेल सहित स्थानीयले प्रमुख जिल्ला अधिकारी गौँलोचन सैजूलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा स्थानीयले लगाएको वाली नष्ट गरिएको, खानेपानीका पाइप तथा मुहानहरुमा क्षती पुगेको , स्थानीय सम्पदाको रुपमा स्थापित पुराना बर पीपल चौतारा, ढुङगेधारा ,आहाल, सडक वरपर रहेका धार्मिक स्थलहरुको समेत मतलब नगरी सडकको काम गरिएकोे उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्रमा सेलेघाट–रामेछाप–साँघुटार सडक खण्ड अन्तर्गत केही स्थानमा जङ्गलहरु मनोमानी ढङ्गले खन्दा काठ दाउरा घाँस स्याउला सबै कुरा नष्ट भएको , काम गर्ने समयको तालिका सार्वजनिक नहुँदा उक्त खण्डमा दैनिक यात्रा गर्ने सबै खाले सवारी साधन तथा पैदल यात्रीले घण्टौ समय बर्बाद भएको, स्थानीय स्तरको समस्याका साझेदारी बनेर काम गर्ने कम्पनी आफै जिम्मेवार नहुदा जनस्तर अस्तब्यस्त बनेको उल्लेख गरिएको छ । आगामी दिनहरुमा कमजोरीहरुलाई सच्याएर काम नगरे स्थानीय झन मर्कामा पर्ने भएकाले उक्त कुराको मध्येनजर गरी तत्काल सबै सम्बन्धीत निकायले समस्या समाधान नगरे जस्तो सुकै सङ्घर्ष गर्ने स्थानीयले ध्यानाकर्षणपत्र मार्फत चेतावनी समेत दिएका छन् ।