रामेछाप । फागुन १८ गते ,
माझी समुदायको विशेष पर्व लदी पूजा सुरु भएको छ । प्रत्येक वर्षको फागुन महिनाको साहिली मङ्गलबार मनाउने लदी (कोशी) पूजाको पहिलो दिन मङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास रहेको माझी समुदायले मनाएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ८ गाइखुराका माझी समुदायहरुले तामाकोशीको किनारमा छिनारी (मसान), मंगलादेवी र जलदेवीका नाममा पाठी, कुखुरा लगायतका वली चढाएर पुजा मनाएका छन् । करिब ५२ घरधुरीको सङ्ख्यामा रहेका गाइखुराका माझी समुदायहरुले पराम्परागत रुपमा चलिआएको यस पर्वलाई निकै महत्वका साथ मनाइरहेका छन् । लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचित पुख्र्यौली पेशा नदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने उनीहरुको विश्वास छ । साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको छ । वर्षातको समयमा नदीले वर्षौनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपु¥यावस् भनेर नदीको पूजा गरिँदै आएको गाइखुराका माझी समुदायका पूजारी सेते माझीले बताउनुभयो । माझी भाषामा ‘छिनारी’ को अर्थ मसान र ‘लदी’ को अर्थ कोशी हुन्छ । मौलिक पोशाक गुनिउ चोली र दौरा सुरुवालमा सजिएर आएका माझी समुदायले मुन (जाँड) खाएर नाचगान समेत गरेका थिए । माझी समुदायको लदी पूजा भोली (बुधबार) बाधा फुकाएसँगै विधिवत् रुपमा अन्त्य हुन्छ । नेपालको संघीय संरचना अनुसार ७७ जिल्ला मध्ये ६८ जिल्लामा माझी समुदायको बसोबास रहेको छ । ६८ जिल्ला मध्ये रामेछाप जिल्लामा माझी समुदायको ठूलो संख्यामा बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार देसभरिमा माझी जातिको जनसंख्या ८३ हजार ७ सय २७ रहेको छ । रामेछापमा मात्र माझीको जनसंख्या ६ हजार ४२ रहेको छ ।
रामेछापमा माझी समुदायको विशेष पर्व लदी पूजा
- प्रकाशित मिति: मंगलबार, फाल्गुन १८ २०७७
- तामाकोशी