न्यायिक समितिमा आएका अधिकांश मुद्दा फर्स्योट

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १७ २०७७
  • तामाकोशी

रामेछाप । फागुन १७ गते ,
जिल्लाको रामेछाप नगरपालिकामा चालु आर्थिक २०७७÷०७८ को हालसम्म १७ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको यो अवधिमा न्यायिक समितिमा आएका नयाँ तथा पुराना गरी १२ वटा मुद्दाको फर्स्योट गरिएको नगरपालिकाकी कानूनी सहजकर्ता विन्दा मगरले बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा यो वर्ष गाली बेइज्जतीका छ वटा , कुटपिटका चारवटा, साँध सीमानाका तीनवटा, कारबाही मागका दुईवटा, बलेसीको पानी अर्काको घरमा झारेको र मजदुरीको ज्याला नदिएको एक÷एक वटा मुद्दा आएका छन् ।गत वर्ष दायित्व सरेर आएका दुईवटा मुद्दाको मेलमिलापबाटै फर्स्योट गरिएको छ , अहिले फर्स्योट हुन बाँकी पाँच वटा मुद्दाको म्याद तामेली भइसेकोले अब चाँडै नै ती मुद्दाहरुको पनि टुंगो लाग्नेछ उहाँले भन्नुभयो । न्यायिक समितिले गत आर्थिक वर्ष २०७६÷०७७ मा ३० वटा मुद्दा दर्ता भएकोमा २१ वटा मुद्दा मेलमिलाप प्रक्रियाबाटै टुंग्याएको थियो ।
गोकुलगंगा गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म २६ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष दायित्व सरेर आएका तीन वटा मुद्दा सहित जम्मा २९ वटा मुद्दामा यो वर्षको हालसम्म २८ वटा मुद्दा मेलमिलाप प्रक्रियाबाट फर्स्योट गरिएको न्यायिक समितिकी संयोजक एवं गउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आर्थिक लेनदेनका आठ वटा, साँध सीमानाका छ वटा, गाली बेइज्जतीका चार वटा, पारिवारि झगडाका दुईवटा, पालनपोषणका एउटा , श्रीमान् श्रीमतीबीचको झगडाका तीनवटा र बोधार्थ दिएको सम्बन्धी दुई वटा मुद्दा आएका छन् । गोकुलगंगा गाउँपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्ष २०७६÷०७७ मा २७ वटा मुद्दा दर्ता भएकोमा २४ वटा मुद्दा मेलमिला प्रक्रियाबाटै टुङ्याइएको थियो । न्यायिक समितिमा आएका मुद्दामा संलग्न व्यक्तिहरुलाई म्याद तामेली गर्ने समयमा कर्मचारी अभावका कारण उनीहरु समक्ष पत्र पु¥याउन समस्या हुने गरेको संयोजक श्रेष्ठले बताउनुभयो ।