विभिन्न कार्यक्रम मार्फत नागरिकलाई रोजगारी दिदै रामेछापका स्थानीय सरकार

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १६ २०७७
  • तामाकोशी

रामेछाप । फागुन १६ गते ,
रामेछापका नगरपालिका तथा गाउँपालिकाहरुले आफ्ना नागरिकलाई रोजगारी दिने गरि कार्यक्रमहरुलाई अगाडि बढाइरहेका छन् । जिल्लाका सवै पालिकाहरुले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार आफ्ना नागरिकहरुलाई रोजगारी दिने गरि कार्यक्रम अगाडि बढाएका हुन् । जिल्लाको गोकुलगंगा गाउँपालिकाले यस बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अनुसार ३६३ जनालाई एक सय दिन बराबरको रोजगारी उपलब्ध गराउने गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले बताउनुभयो ।
गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस बर्ष १ करोड ८७ लाख ७३ हजार रुपियाँ बजेट आएको छ , गाउँपालिकाको ९९ वटा पूर्वाधार कार्यक्रम अन्तर्गत ७५ वटा सडक सोलिङ गर्ने कार्यक्रम रहेको छ अध्यक्ष सुनुवारले भन्नुभयो ।
जिल्लाको मन्थली नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २२५ जना भन्दा बढी नागरिकलाई रोजगारी दिने नगरपालिकाका सूचना अधिकारी उपसचिव हेमन्त बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार १४ वडा रहेको नगरपालिकाले बेरोगारीमा सूचीकृत भएकाहरुलाई आगामी चैत महिनाको पहिलो साताबाट न्युनतम एकसय दिन बराबरको रोजगारी प्रदान गर्नेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यो वर्ष मन्थली नगरपालिकालाई एक करोड १६ लाख ३९ हजार रुपियाँ बजेट प्राप्त भएको छ ।
यस्तै रामेछाप नगरपालिकाले यो वर्ष आफ्ना २०७ जना नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार दिदै छ । ९ वटा वडा रहेको नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको न्युनतम सय दिनको रोजगारीका लागि प्रत्येक वडाबाट २३÷२३ जना बेराजगार व्यक्तिहरुको नाम सूचीकृत भएको नगरपालिकाका रोजगार संयोजक देवश्री त्रिपाठीले बताउनुभयो । यो कार्यक्रम अन्तर्गत नगरपालिकाले गत वर्ष ३०३ जनालाई रोजगार प्रदान गरेको थियो । प्रधानमन्त्री रोगार कार्यक्रमका लागि नगरपालिकालाई यस वर्ष एक करोड सात लाख ७ हजार रुपियाँ बजेट प्राप्त भएको छ । यो कार्यक्रम अन्तर्गत नागरिकहरुले दैनिकक आठ घण्टा काम गरे वापत ५ सय १७ रुपियाँका दरले एक सय दिनको रोजगारी पाउने छन्।