हायू समुदायको ओप्छेमी रानीको पूजा सुरु

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १२ २०७७
  • तामाकोशी

रामेछाप । फागुन १२ गते,
रामेछाप र सिन्धुलीमा बसोबास रहेको नेपालको लोपोन्मुख हायू समुदायको मूख्य पर्व महकाली देवी अर्थात् ओप्छेमी रानीको पूजा सुरु भएको छ । ‘हायू जातिले ओप्छेमी रानी भनेर देवीको पूजा गर्दछन् । यो मातृपूजाको एउटा रुप हो र मातृसत्ताको स्मृति चिह्न हो । ओप्छेमी प्रचिन कालकी देवी हुन् भन्ने कुरा कुनै मूर्ति वा प्रतिमा नहुनुले नै जनाएको डी आर पोखरेलद्वारा लिखित हायू जातिको लोकजीवन नामक लेखमा उल्लेख छ । हायू समुदायको यो पर्व विजोर वर्षमा मनाइन्छ । एकहप्तासम्म मनाइने यो पर्व मंगलबारबाट सुरु भएको हो । अघिल्लो दिनदेखि उपवास बसी चोखो बसेका पूजारीले पहिलो दिन गुठीघरमा गई ढोल र झ्याम्टाको पूजा गरी पूजा आरम्भ भएको छ । बुधबार , विहीबार र शुक्रबार पनि पूजा पाठ गरी ढोल बजाइन्छ । पाँचौ दिन पनि पहिलाको जस्तै पाठ पूजा गरिन्छ । यो दिन ओप्छेमी देवी जागृत हुने विश्वास गरिन्छ । पाँचौ दिन गाउँ भरिका घरमा लिपपोत, नुवाई धुवाई गरी सफा सुग्घर गरिन्छ । देवीको पूजाको लागि सबै गाउँलेहरुले सरसामान तयार गरी गुठीमा लैजाने स्थानीयको भनाइ छ । गाउँका मानिस जम्मा भएर देवीको पूजा गरी ढोल र झ्याम्टा बजाई नागचान गर्दै गुठीघरबाट देवीथानमा जाने चलन रहेको स्थानीय निरबहादुर हायूले बताउनुभयो । देवी थानमा पुगेपछि पूजामा अक्षता फूलपाती, धूप चढाइन्छ र भाले काटिन्छ । रातभरि गाउने र बजाउने काम हुन्छ । देवीको पूजा सकिए पछि छैठौँ दिन दिनभरि कुनै कार्यक्रम हुँदैन । सो दिनको साँझबाट दुई दिनसम्म नाचगान र भोज खाने काम हुन्छ ।