दुई करोड २५ लाख रुपैँयामा एकीकृत नमुना बस्ती बन्यो : उद्घाटन गर्न मुख्यमन्त्री पौडेल आउने

  • प्रकाशित मिति: बुधबार, माघ २१ २०७७
  • तामाकोशी

रामेछाप । माघ २१ गते,
रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माण सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सो बस्ती निर्माण गरिएको हो । वाग्मती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी दुई करोड २५ लाख रुपैँयाको लागतमा बस्ती निर्माणको काम सम्पन्न भएको खाँडादेवी गाउँपालिकाले जनाएको छ । नमुना बस्ती निर्माणका लागि वाग्मती प्रदेशको कृषि निर्देशनालय मार्फत रकम विनियोजना गरिएको हो । एकीकृत बस्तीमा ४२ वटा दुई कोठे घर र शौचालय छन् । त्यस्तै सामुदायीक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् । स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा बस्ती बनेको हो । एकिकृत नमुना बस्तीको माघ २४ गते वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीका साथै वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा लगायतको सहभागिता हुने खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो । बस्तीलाई होम स्टेको रुपमा विकास गरी सुनकोसी नदीमा डुंगा र ¥याफ्टिङ समेत सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको वडा नं ३ भिरपानीका वडाध्यक्ष पुष्कर कार्कीले बताउनुभयो । सुनकोसी पारि सञ्चालनमा रहेको बीपी मार्ग र निर्माणाधीन मध्यपहाडी मार्गसँगै जोडिएको सो बस्ती माझी संस्कृतिको पर्यटन केन्द्र बन्नसक्ने देखिन्छ ।