रामेछाप । माघ १५ गते,
कोरोना विरुद्धको खोप अभियान सुरु भएको दुईदिनमा रामेछापका १२९ जनाले कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएका छन् । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाकामा कार्यरत स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयमसेविका सफाइकर्मी,सुरक्षकर्मी र एम्बुलेन्स चालक गरी १२९ जनालाई पहिलो चरणको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान सुरु भएको पहिलोदिन बुधबार ३९ जना र दोस्रोदिन विहीबार ९०.जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार ५५४ जना सरकारी सेवामा खटिएका स्वास्थ्यकर्मी, ७० जना निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी ,७५२ जना महिला स्वास्थ्य स्वयमसेविका ,३५ जना एम्बुलेन्स चालक, ४५ जना सुरक्षाकर्मी, र २१ जना सफाइकर्मीलाई गरी जिल्लाभरका एक हजार ४७७ जनालाई पहिलो चरणको खोप लगाइदैछ । बागमती प्रदेश सरकारले रामेछापका लागि एक सय ५९ भाइल खोप पठाएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार एक भाइल खोपमा दश डोज हुने भएकाले पहिलो चरण अन्तर्गत जिल्लामा आएको खोपले १५ सय ९० जनालाई पुग्नेछ । अहिले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय गरी दुईवटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाको खाँडादेवी र सुनापति गाउँपालिकाबाट पहिलो चरणको खोपका लागि नाम पठाइएकालाई माघ १७ र १८ , दोरम्बा र लिखुतामाकोसी गाउँपालिकाकालाई माघ १९ र २० गते, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाकालाई माघ २१ र २२ गते खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापका १२९ जनाले कोरोना विरुद्धको खोप लगाए
- प्रकाशित मिति: बिहिबार, माघ १५ २०७७
- तामाकोशी