रामेछाप । माघ ५ गते ,
रामेछापमा नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवामा पटक पटक समस्या आएको भन्दै नेपाल पत्रकार महासङ्घले टेलिकम र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घले माघ २ गते शुक्रबारदेखि एडिएसल इन्टनेट सेवा र टेलिफोन सेवामा समस्या आएको भन्दै सोमबार नेपाल टेलिकम मन्थलीमा विभिन्न ६ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको हो । पत्रकार महासङ्घ अध्यक्ष रमेश ढुंगेलको नेतृत्वको पत्रकारहरुको टोलीले टेलिकम रामेछापका निमित्त प्रमुख सरोज मुखियालाई अबको तीनदिनभित्र टेलिफोन र एडिएसएलमा देखिएको समस्या समाधान गर्नुपर्ने, सेवाग्राहीले मासिक रुपमा एडिएसएलको भुक्तानी गर्ने गरेको भएपनि महिना दिन पुगेपछि नेट चले पनि नचलेपनि बन्द गर्ने गरिएकाले नचलेको दिनको गणना गरी सबै सेवाग्राहीहरुलाई क्षतिपूर्ति वापतको सेवा अवधि थप गर्नुपर्ने, जिल्ला र पालिका स्तरमा भइरहेको बढ्दो सहरीकरणसँगै नेपाल टेलिकमले दिनुपर्ने सेवा माग अनुसार दिनुपर्ने र त्यसका लागि क्षमत वृद्धि लगायतका अन्य कामहरु तत्काल सुरु गर्नुपर्ने माग सहितको ज्ञापनपत्र बुझाएको हो । महासङ्घले हाल भइरहेको प्राविधिक ड्रव वायर मार्फत एउटै घरमा लाइन जडान गर्न चारदेखि पाँच सय मिटरसम्म व्यक्तिगत रुपमा खर्च गरी तार तान्नुपर्ने अहिलेको अवस्थालाई विस्थापित गरी आधुनिक तरिकाले फाइबर मार्फत तत्काल सेवा विस्तार गर्नुपर्ने, सन्धुली–खुर्कोट हुँदै आएको फाइबर लिङ्क र मुडे–चरिकोट हुँदै रामेछाप मन्थली आएको अप्टिकल फाइबरलाई एकीकृत गरी रिङ बनाएर चुस्त, दुरुस्त सेवा दिनुपर्ने लगायतका माग अघि सारेको छ । यता गत पुस २९ गते माघे सङ्क्रान्ति मनाउन घर जानु भएका टेलिकम रामेछापका प्रमुख विष्णु प्रसाद भण्डारी ६ दिन वितिसक्दा पनि कार्यालयमा उपस्थित नभएको पाइएको छ । फोन गरेर नेट र फोन सेवाको बारेमा जानकारी लिन खोज्दा प्रमुख भण्डारीले प्रशासन र पत्रकार महासंघलाई चाहिँ चासो नहुने तपाइँहरुलाई के चासो भनेर गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने गरेको सेवाग्राहीहरुले समेत गुनासो गरेका छ । ज्ञापन पत्र बुझाउन पत्रकार महासंघको टोलीसँगै प्रशासन पुगेका सेवाग्राहरुको उक्त गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाईले आफूले त्यस बारेमा बुझ्ने बताउनुभएको छ । भण्डारीको विदाका सन्दर्भमा लामो विदामा बस्ने बारे आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । नेट सेवा अवरुद्धका कारण लोकसेवा फारम भर्नका लागि विद्यार्थीहरुले दोब्बर दस्तुर तिनुपर्ने भएपनि त्यसका बारेमा पनि पहल गर्ने उहाँले बताउनु भएको थियो । विगत तीन दिनदेखि अवरुद्ध बनेको इन्टरनेट र टेलिफोन सेवा अझैँ सूचारु हुन सकेको छैन । सोमबार पनि धुलीखेलमा फाइबरको काम भइरहेकाले फाइबरको काम सकिएपछि सेवा सुचारु हुने टेलिकमका निमित्त प्रमुख मुखियाले जानकारी दिनुभयो ।

