रामेछाप । पुस २६ गते ,
रामेछापको रामेछाप नगरपालिका वडा नं ८ स्थित विटार पार्कमा विनाशकारी भूकम्प २०७२ ले भत्काएको धरहराको झल्को दिने गरी नमूना धरहरा निर्माण गरिएको छ । रामेछापका सहयोगी मनहरु (रासम)को सक्रियतामा निर्माणाधिन अवस्थामा रहेको विटार पार्कमा नेशनल ब्रिडिङ् फार्म प्रालिले नमूना धरहरा बनाएको हो । प्रालिकाका सञ्चालक रुद्र कुमार श्रेष्ठ ,विश्वास श्रेष्ठ र भरत श्रेष्ठले २२ फिट अग्लो नमूना धरहरा बनाउनुभएको हो । करिब दुई महिनामा निर्माण सम्पन्न भएको नमूना धरहराले जिल्ला सदरमुकाम मन्थली नजिकै रहेको बिटार पार्कको आर्कषण बढाएको छ । जिल्लाकै नमूना पार्कमा थप आर्कषण बढाउनका लागि नमूना धरहरा निर्माण गरिएको धरहरा निर्माण अभियानमा लागेका नेसनल ब्रिडिङ् प्रालिका सञ्चालक रुद्र कुमार श्रेष्ठले बताउनुभयो । पार्कमा नमूना धरहरा बनेसङ्गै पार्क घुम्न आउने आन्तरिक पर्यटकहरुको आवागमन बढेको छ उहाँले भन्नुभयो । रामेछाप नगरपालिका प्रमुख नरबहादर थापामगरले नगरपालिकाको पञ्च वर्षिय योजना अन्तर्गत विटार पार्क विकास भइरहेको बताउनुभयो । उहाँले वडा नं ८ अन्तर्गत तिल्केस्थान गडी, गणेश पार्क र बिटार पार्क गरि तीन वटा पार्कहरु पञ्च वर्षिय योजना अन्तर्गत विकास भइरहेको बताउनुभयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले विटार पार्क रामेछाप नगरपालिकामा पर्ने भए पनि बढी उपयोग मन्थली नगरबासीले गर्ने भएकाले पार्कको विकासको लागि मन्थली नगरपालिका पनि लागि रहेको बताउनुभयो । मन्थली नगरपालिका सुकाजोर खोलालाई हरित क्षेत्रको रुपमा विकास गर्ने क्रममा रहेकाले जमिन मुनीबाट पानी तानेर विटार पार्कको हरियालीको लागि पनि सहयोगी बन्न सक्ने उहाँले बताउनुभयो ।
बिटार पार्कमा भूकम्पले भत्काएको धरहराको झल्को दिने नमूना धरहरा निर्माण
- प्रकाशित मिति: आइतबार, पुष २६ २०७७
- तामाकोशी