नेकपा प्रचण्ड–नेपाल समूह रामेछापले प्रधानमन्त्रीलाई संविधान र विरोधपत्र पठायो

  • प्रकाशित मिति: शुक्रबार, पुष २४ २०७७
  • तामाकोशी

रामेछाप । पुस २४ गते,
प्रतिनिधि सभा विघटनको विरोधमा (नेकपा) प्रचण्ड–माधव समूह रामेछापले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक सहितको विरोधपत्र पठाएको छ । नेकपा प्रचण्ड–माधव समूह रामेछापले शुक्रबार प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा मार्फत प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो । नेकपा प्रचण्ड–माधव समुहका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशकंर पौडेलले नेपालको संविधान–२०७२ र जिल्ला अध्यक्ष मैन कुमार मोक्तान (मदन) ले प्रतिनिधि सभा विघटनको विरोधपत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा पठाइएको नेकपा प्रचण्ड–माधव समुहका जिल्ला सचिवालय सदस्य मदन कुमार कालिकोटेले जानकारी दिनुभयो । उहाँले आफुले चालेको असंवैधानिक कदमको बारेमा संविधान पुनः पढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नका लागि जिल्ला प्रशासन कार्यालय मार्फत संविधान संविधान सहित विरोधपत्र पठाइएको बताउनुभयो । संविधानको पुस्तक र विरोधपत्र पठाउन नेकपा प्रचण्ड–माधव समुहका नेता तथा कार्यकर्ताहरू प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धका विभिन्न नारा लगाउदै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।