रामेछाप । पुस २० गते,
रामेछाप सदरमुकाम मन्थली बजार क्षेत्रमा प्रेसर हर्न निषेध गरिएको छ । मन्थलीस्थित भैसेश्वर–देवकोटाचोक हुँदै आकाशे लगायतका क्षेत्रभित्र प्रेसर हर्न बजाउन निषेध गरिएको हो । सवारी तथा ढुवानीका साधनले बजाउने प्रेसर हर्नबाट हुने ध्वनी प्रदुषणले सम्वेदनशिल विद्यालय , स्वास्थ्य संस्था क्षेत्र लगायत व्यस्त बजार क्षेत्रमा पनि असर गर्ने भएकाले बजार क्षेत्रभित्र सवारी साधनलाई प्रेसर हर्न बजाउन निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताउनुभयो । करिब दुई साताअघिदेखि सवारी चालकहरुलाई बजार क्षेत्रमा प्रेसर हर्न नबजाउन सुझाव दिँदै आएपनि सवारी चालकहरुले अटेर गरेपछि सोमबार कडाईका साथ बजार क्षेत्र सवारी साधनहरुलाई प्रेसर हर्न बजाउन निषेध गरिएको उहाँको भनाई छ । अब ट्रक, ट्रिपर, बस र ट्याक्टर लगायतका सवारी साधनहरुले बजार क्षेत्रभित्र प्रेसर हर्न बजाउन पाउने छैनन् । निषेधित क्षेत्रमा प्रेसर हर्न बजाउने सवारी साधनहरुलाई पाँच सय रुपियाँदेखि पन्ध्र सय रुपियाँसम्म जरिवाना तिराइने ट्रफिक प्रमुख पाण्डेले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप, रामेछाप सहयोगी मन(रासम) र नेशनल ब्रिडिङ् फार्म प्रालि रामेछापले मन्थली बजारको विभिन्न ठाउँमा प्रेसर हर्न निषेध लेखिएको बोर्ड राखेका छन् ।
रामेछाप सदरमुकाम मन्थली बजार क्षेत्रमा प्रेसर हर्न निषेध
- प्रकाशित मिति: सोमबार, पुष २० २०७७
- तामाकोशी