प्रचण्ड-माधवलाई ओली समूहका नेताको चुनौतीः हिम्मत भए चुनावमा आउनूस्

  • प्रकाशित मिति: आइतबार, पुष १९ २०७७
  • तामाकोशी

बुटवल । केपी ओली समूहको नेकपाका दोस्रो वरियताका नेताहरुले प्रचण्डको सत्ता र शक्तिमा रहने लोभले पार्टी अहिलेको अवस्थामा पुगेको आरोप लगाएका छन् ।

नेकपाका दुई अध्यक्षबीच सहमति कायम गर्न अन्तिमसम्म कसरत गरेका तीन नेताले प्रचण्ड नै पार्टी विभाजनको प्रमुख दोषी रहेको जिकिर गरे । ओलीपक्षीय नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेताहरुले प्रचण्डको एकल अध्यक्ष र प्रधानमन्त्री हुने लोभले मुलुक यो अवस्थामा पुगेको दाबी गरे । र प्रचण्डले नै अहिलेको अवस्थाको जिम्मेवारी लिनुपर्ने उनीहरुको जिकिर छ ।



भेलालाई सम्बोधन गर्दै नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपालको पदीय महत्वाकांक्षाले जटिल अवस्था सिर्जना भएको बताए । ‘पदको लोभले मुलुक र पार्टीलाई अराजकतातर्फ धकेल्ने प्रयास भइरहेको थियो, प्रचण्डलाई प्रधानमन्त्री र पहिलो अध्यक्ष बन्ने लोभ, माधव कमरेडलाई महाधिवेशन हारेर पनि अध्यक्ष बन्नुपर्ने लोभ, उनले भने,‘लोभमा परेर मुलुक र पार्टीलाई अराजकतातर्फ लैजाने प्रयास थियो, प्रधानमन्त्री ओलीले त्यसलाई रोकेर जनतामा जाने निर्णय लिनुभयो ।’