काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।
केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन । नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ । उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’