वागमती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

  • प्रकाशित मिति: सोमबार, पुष १३ २०७७
  • तामाकोशी

मकवानपुर । पुस १३ गते,
वागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले सोमबार विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वागमती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । सोमबार माग गरिएका कर्मचारीहरु वागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वागमती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।