काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपछि चीनको चासो ह्वात्तै बढेको छ।
नेकपा एकीकरणको जस लिदै आएको चीनले विभाजन विगतमा विभाजन रोक्न सक्रियता देखाएर सफलता समेत हासिल गरेको थियो। तर, यसपटक चीनले सबै प्रयासका बाबजुद नेकपा विभाजन रोक्न सकेन।
चिनियाँ राजदूत होउ यान्छी यो हप्ताभर नेकपा एकताका लागि प्रयास गर्दै दौडधुप गरिरहिन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मङ्गलबार, प्रचण्डलाई बिहिबार र शुक्रबार माधवकुमार नेपाल, कृष्णबहादुर महरा र वर्षमान पुनलाई भेटेकी छिन्। सबै भेटमा छलफल नेकपा विभाजनपछिको राजनीतिक भविष्यबारे केन्द्रित रहेको थियो।
राजदूत यान्छीले नेकपा एकता पुनःस्थापित गर्ने प्रयास असफल भएपछि चीनबाट उच्च तहको भ्रमण हुने भएको छ। भोलि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यहु आउने भएका छन्। उनी चार सदस्यीय टोलीसहित आइतबार विहानको चाइना साउर्थन एयरलाइन्सको उडानबाट काठमाडौँ उत्रदैछन्।
यहुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई समेट भेट्ने कार्यक्रम रहेको छ।
यो टोलीले नेकपाको दुवै समूहलाई भेटेर एकता पुनःस्थापित गर्ने प्रयास गर्ने बुझिएको छ।