मन्त्रिपरिषद्ः राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ मा आह्वान

  • प्रकाशित मिति: शनिबार, पुष ११ २०७७
  • तामाकोशी

सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेरपछि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस पठाइएको हो ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्य मन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेपछि बालुवाटारमा बैठक बसेको थियो ।



 

ओलीले शुक्रबार ८ जना फूल मन्त्री थप्नुका साथै अन्य केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रतिनिधिसभा विघटनमा असहमति जनाउँदै प्रचण्ड–माधव नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ओलीले नयाँ मन्त्री थप्नुकासाथै हेरफर गरेका हुन् । थपिएका नयाँ मन्त्रीमा टोपबहादुर रायमाझी(उर्जा) मणि थापा (खानेपानी), प्रभु साह (शहरी विकास), प्रेम आले (वन) रहेका छन् । त्यसैगरी गणेश ठगुन्ना (सामान्य प्रशासन), गौरी शंकर चौधरी (श्रम), दावा लामा (युवा तथा खेलकुद) र जुली कुमारी महतो (महिला बालबालिका) नयाँ मन्त्रीका रुपमा थपिएका हुन् ।

खेलकुद मन्त्रीबाट जगतबहादुर विश्वकर्मा हटाइएका छन् । अन्य सबै मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । यसअघि कानुनमन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फेले भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन, भूमिसुधार मन्त्री पद्मा अर्याललाई कृषि, सामान्य प्रशासनमन्त्री रहेका हृदयेश त्रिपाठीलाई स्वास्थ्य, सहरी विकास मन्त्री रहेका कृष्ण गोपाल श्रेष्ठलाई शिक्षामन्त्री, महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई कानून मन्त्रीको जिम्मेवारी दिइएको छ ।