तोकिएकै मितिमा चुनाव हुनेमा कुनै दुबिधा छैन : मन्त्री ढुंगेल

  • प्रकाशित मिति: बिहिबार, पुष ९ २०७७
  • तामाकोशी

रामेछाप । पुस ९ गते,
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले तोकिएकै मितिमा चुनाव सम्पन्न हुने बताउनुभएको छ । चुनाव हुदैन कि भन्ने कुनै दुबिधामा नपरी निर्वाचनको तयारीमा सबै जुटनु पर्नेमा उहाँको जोड छ । आफ्नै पार्टीले प्रतिपक्ष भन्दा अझ अगाडी बढेर सरकारलाई असहयोग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वाध्य भएर संसद विघटन गर्नु भएको मन्त्री ढुंगेलले बताउनुभयो । ओली समुहका केन्द्रीय सदस्य समेत रहेका मन्त्री ढुंगेलले अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने कदम चालिएको बताउनुभयो । उहाँले सरकारलाई नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको आरोप लगाउनुभयो । आफ्नै पार्टीबाट प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको हर्कत भएपछि प्रधानमन्त्री ओलीले बाध्यात्मक कारण संसद विघटन गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार भएको बताउदै मन्त्री ढुंगलले सरकार असफल भयो भन्नेहरु चुनावमा गएर मत लिनु पर्ने बताउनुभयो ।