धुम्बाराही पार्टी कार्यालय ओली पक्षको कब्जा

  • प्रकाशित मिति: मंगलबार, पुष ७ २०७७
  • तामाकोशी

नेकपा फूटको संघारमा पुगेका बेला पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा एक पक्षले ताला लगाएको छ। दुई अध्यक्षको नेतृत्वमा पार्टी कमिटीका समानान्तर बैठक चलिरहेको र आन्तरिक तनाव बढिरहेका बेला कार्यालयमा पनि ताला लगाइएको हो। आइतबार प्रधानमन्त्री ओलीले संसद भंग गरिदिएपछि दुबै अध्यक्षको बैठक पार्टी कार्यालयमा बसेको छैन।

प्रचण्ड–नेपाल पक्षले धुम्बाराहीमा बैठक राख्न खोजेको थियो। त्यसका लागि सोमबार पौने १२ बजे कार्यालयमा सामान मिलाउने तयारी हुँदे गर्दा महासचिवको निर्देशनमा कुनै काम नगर्न निर्देशन आएपछि प्रचण्ड–नेपाल पक्ष पछि हटेको स्रोतले जनाएको छ। नेकपाका दुई जना कार्यालय सचिव छन्। ओली पक्षबाट ईश्वरी रिजाल र प्रचण्ड पक्षका श्रीराम ढकाल छन्।



‘आज पार्टी कार्यालयमा आएका कर्मचारीलाई बीचबाटैबाट फर्काइदिएछन्। अनि ताला लगाइदिएको खबर पायौं। पुगेका कर्मचारीलाई पनि आज कार्यालय बन्द हो अब कार्यालयमा बोलाएपछि मात्र आउनु भनेर कार्यालय सचिव इश्वरी रिजालले निर्देशन दिनुभएछ,’ प्रचण्ड–नेपाल निकट एक सथायी समिति सदस्यले भने, ‘अर्का कार्यालय सचिव श्रीराम ढकाल पुग्दा त कार्यालयमा ताला लगाएर रिजालजीहरु हिडिसक्नुभएछ।’

धुम्बाराहीको कार्यालयलाई महासचिवको निर्देशनमा कब्जा गर्न खोेजिएको प्रचण्ड–नेपाल पक्षले बताएको छ।