नागरिकको सुरक्षा गर्ने प्रहरीलाई आफ्नै सुरक्षा गर्न कठिन

  • प्रकाशित मिति: शनिबार, पुष ४ २०७७
  • तामाकोशी

रामेछाप । पौष ४ गते,
सरकारले नेपाल प्रहरीका जिल्ला तथा इलाका तहका कार्यालय सुविधा सम्पन्न बनाउँदै गएको भए पनि अझै धेरै प्रहरीका इलाका कार्यालय तथा चौकी असुरक्षित टहरामा बस्दै आएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजिमा रहेको प्रहरी चौकीको अवस्था पनि त्यस्तै छ । नागरिकको सुरक्षामा खटिएको प्रहरी आफैँ बस्ने ठाउँ सुरक्षित छैन । जस्ताले बारेको र जस्ताकै छानो भएका टहरमा बसेर प्रहरीले शान्ति सुरक्षाको काम गरी रहेको छ । चिसो ठाउँमा जस्ताको छानोबाट शीत चुहिएर लुगा समेत भिज्ने गरेको सेवामा खटिएका प्रहरीको गुनासो छ । चिसोबाट जोगिन छानाको माथि थोत्रा मान्द्रा र पाल हालिएको छ । ती पनि च्यातिएर धुजा धुजा भइसकेका छन् । जस्ताका टहरा ठूलो हावा चल्यो भने उडाएर कहाँ पुर्याउने हो ठेगान छैन । असुरक्षित टहराकोे बसाइले नागरिकको सुरक्षामा खटिएका प्रहरीलाई आफ्नो र हतियार सुरक्षा गर्न समेत निक्कै कठिन भैरहेको छ । वडा कार्यालय नजिकै बिजोगसँग प्रहरी बसेको छ । प्रहरी चौकीको दुरावस्थाले लज्जित बनाएको उमाकुण्ड गाउँपालिका–७ का वडाअध्यक्ष रुद्रमणी नेवारले बताउनुभयो । प्रहरी चौकीको लागि जग्गा व्यवस्था गरी पास भैसकेको छ अब भवन निर्माणका लागि प्रदेश वा केन्द्र सरकारको ध्यान जान आवश्यक रहेको वडाध्यक्ष नेवारले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले भूजि सहित तीन स्थानमा आवश्यक प्रहरी भवनका लागि जग्गाको प्रबन्ध मिलाएर संघ तथा प्रदेशमा पठाइएको बताउनुभयो । उहाँले प्रहरी भवनको तत्काल आवश्यक भएका प्रहरी चौकी भुजि , इलाका प्रहरी कार्यालय बेथान र जिल्ला ट्राफिक प्रहरी कार्यालयका लागि यो वर्ष भवन पर्ने संभावना रहेको बताउनुभयो ।