गुटभेलामा प्रचण्ड, नेपाल र खनालको एकै स्वरः गलत प्रवृत्तिविरुद्ध डटेर लाग्नुस्

  • प्रकाशित मिति: शुक्रबार, पुष ३ २०७७
  • तामाकोशी

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले आफ्ना गुटका नेताहरूलाई सम्बोधन गर्दै गलत प्रवृत्तिविरुद्ध डटेर लाग्न निर्देशन दिएका छन्। प्रदेश १ का पार्टी जिल्ला अध्यक्ष र सचिवसहित उपलब्ध केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै तीनै नेताले पार्टीलाई विधिपद्धतिमा ल्याउन नदिने प्रवृत्तिविरुद्ध लड्न निर्देशन दिएका हुन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको गुटको भेलालाई प्रचण्ड, खनाल र नेपालले मात्रै सम्बोधन गरेका थिए। प्रदेशबाट आएका उपलब्ध केन्द्रीय सदस्य सहित जिल्ला पार्टी अध्यक्ष र सचिवले शीर्ष नेताले राखेको धारणा सुनेर मात्रै बसेका थिए। तीनै जना नेताले पार्टीमा भइरहेको विकसित घटनाक्रमका विषयमा विस्तृतमा व्याख्या गरेका थिए।



पार्टीमा विधिपद्धति समाएर विचार विचलनविरुद्ध निर्मतापूर्वक लाग्नुपर्ने नेताहरूको ठहर छ। यसअघि प्रचण्ड नेपाल पक्षका विद्यार्थी संगठनले प्रदेश १ को झापामा गुटको भेला गरेका थिए। उनीहरुले गर्नुअघि ओली निकट विद्यार्थी संगठनले विराटनगरमा प्रदेशस्तरको भेला गरेका थिए। प्रदेश एकमा पार्टी गुटको भेलाले निरन्तरता पाइरहेको छ। यसै निरन्तरता स्वरुप शुक्रबार प्रचण्ड नेपाल पक्षले जिल्ला अध्यक्ष र सचिवलाई बोलाएर पेरिसडाँडामा भेला गरेका हुन्।

भेलामा सहभागी पार्टी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीलाई कसरी सुदृढ र एकताबद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए। ुहामीले गलत प्रवृत्तिका विरुद्ध कसरी संगठित हुनेरु गलत प्रवृत्तिका विरुद्ध कसरी संगठित भएर प्रतिवाद गर्ने विषयमा छलफल गर्‍यौ,’ खतिवडाले भने, ‘प्रधानमन्त्रीले अध्यादेश ल्याएर ठूलो समस्या पैदा गर्नुभएको छ। यदि उनले फिर्ता गर्नु भएन भने थप एक कदम अगाडि बढ्ने भन्ने छ।’

तर ओलीले अध्यादेश फिर्ता नगरे कस्तो कदम चल्ने भन्ने विषयमा खतिवडाले खुलाएनन्। पार्टीका विखण्डनवादी, एकताधिकारवादी र सर्वसत्तावादीविरुद्ध एक जुट भई कसरी संघर्ष गर्ने विषयमा छलफल भएको खतिवडाले दाबी गरे।