सर्वसाधारणलाई लकडाउन खुकुलो भएको महसुश : प्रशासन भन्छ थप कडाई गरिएको छ

  • प्रकाशित मिति: मंगलबार, बैशाख २३ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख २३ गते,
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जारी गरेको लकडाउनको वैशाख २३ गते ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक र पास भएका सवारी साधनमात्रै सञ्चालनमा भैरहेको स्थानीय प्रशासनले जनाएको छ । तर रामेछाप जिल्लामा सामाजिक दुरी र पासविनको सावरी संचालन गर्न नदिने कुरा पुर्ण कार्यान्वयन नहँुदा लकडाउन खुकुलो भएको स्थानीय सर्वसाधारणहरुले महसुश गरेका छन् । सदरमुकाम मन्थली लगाएत जिल्लाको बजार क्षेत्रहरुमा मानिस तथा साना सवारी आवागमनको दर बढ्दै गएको देखिन्छ । बिहान र बेलुकाको समयमा मानिस तथा साना सवारी आवागमनको दर अझ बढ्ने गरेका छन् । रामेछापमा लकडाउनको पुर्ण रुपमा पालना गराउन स्थानीय प्रशासन , स्थानीय सरकार लगाएत सरोकारवाला निकायले नसकेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल बताउँछन् ।
पछिल्लो समय दिनप्रति दिन नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जिल्लामा सुरक्षा सतर्कता अझ बढाउँनुपर्नेमा लकडाउनलाई कडाई गर्ने स्थानीय प्रशासनको निर्णय कागजमा मात्रै सिमित हँुदा दिनप्रतिदिन झन खुकुलो हुदै गएको उनको भनाई छ । मानव अधिकार अवस्था अनुगमन समिति रामेछापका संयोजक समेत रहेका ढुंगेलले स्थानीय प्रशासनले इपास बिनाको सवारी संचालन नहुने भनेपनि जिल्लमा धेरै पासविनाका सवारी संचालन भैरहेको , अत्यावश्यक खाद्य वस्तुहरुमा मुल्यवृद्धि भैरहेको र कुनैपनि ठाउँमा सामाजिक दुरी कायम हुन नसक्दा पनि सरोकारवाला निकाय बेखबर बनेको बताए ।
नेपाल बार यसोसियसन रामेछाप इकाईका सचिव यादव प्रसाद दाहाल पनि जिल्लामा लकडाउनको समयमा पालनामा हुनुपर्ने कुराहरु पुर्ण पालना हुननसक्दा समस्या भएको बताउछन् । निश्चित समयका लागि संचालन भएका बैंकहरु, बजारमा संचालन भएका तरकारी , खाद्यान्न लगाएतका पसलहरु र सडकमा हिड्ने पैदल यात्रुहरुमा समेत सरकारले तोके अनुसारको सामाजि भौतिक दुरी कायम नभएको उनको भनाई छ ।
बिहान ६ बजेदेखी ९ बजेसम्म मन्थली बजारमा संचालन हुने खाद्यान्न,तरकारी तथा फलफूल पसल तथा निश्चित समयका लागि खुल्ने बैंकहरुमा समेत कुनैपनि दुरी कायम नगरिनुले भविष्यमा ठुलो खतरा पैदा गर्नसक्ने उनको भनाई छ । केहि बैंकहरुले बाहिर लाइनमा बस्नेबेलामा दुरी कायम गरेको जस्तो देखाए पनि भित्र एकैचोटि धेरै सेवाग्रही प्रवेश गराउँदा दुरी कायम नाममा मात्रै सिमित भएको उनको भनाई छ । लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगेको भन्दै सरकारले वैशाख २५ गतेसम्मलाई लक डाउन थप गरेको छ । यसअवधीमा मन्थलीमा अहिले बिहान ६ बजेदेखी ९ बजेसम्म अत्यावश्यक सामाग्री पाइने पसलहरु खाद्यान्न, तरकारी , फलफूल , डेरीहरु खुल्ने गरेका छन् ।
जिल्लाको विभिन्न स्थानमा प्रहरीले चेकजाँचमा कडाई गरेपनि मन्थली बजार क्षेत्रमै लकडाउनको पूर्ण पालना भएको छैन् । तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँहरुमा सामाजिक दुरीको बेवास्ता गर्ने गरिएको छ । यता रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने लकडाउनलाई अन्य जिल्ला भन्दा रामेछापमा कडाई गरिएको दाबि गरिन् । उनले अन्यठाउँबाट रातको समयमा आएका सवारीसाधनलाई जिल्लाको नाकामा रोक्दा सर्बसाधारणहरुले अन्यजिल्लामा भन्दा रामेछापका किन कडाई भनेर प्रश्न गर्ने गरेको बताइन् । प्रमुख जिल्ला अधिकारी शर्माले अहिले सामाजिक सुरक्षा भक्ता वितरणको समय भएको र सबै वडा कार्यालयहरुबाट बितरण गर्नु तत्काल सम्भव नभएकाले बैंकहरुमा केहि भिडभाड देखिए पनि दुरी काय गरेर मात्रै सेवा प्रवाहा गर्न भनिएको बताइन् । मुल्यवृद्धिका सवालमा जिल्ला प्रशासनले प्रभावकारी अनुगमन गरिरहेको र सोमबारमात्रै बजारका खद्यान्न , तरकारी , फलफूल पसलहरुमा अनुगमन गर्दा त्यस्तो केहि नपाइएको उनको भनाई छ । उनले जिल्लामा पासविनाका कुनैपनि सवारी संचालन नभएको दाबि गर्दै बाहिरबाट केहि पासविनाको सवारी आउँने गरेको भएपनि रोकेर आवश्यक कारवाही गरिएको बताइन् ।