श्रमजिवी पत्रकार ऐन अनुसार पत्रकारले सेवा सुविधा पाउनु पर्छ : कानुनमन्त्री जम्कट्टेल

  • प्रकाशित मिति: सोमबार, पुष ७ २०७६
  • तामाकोशी

सिन्धुली । पौष ७ गते,
प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालीकराम जम्कट्टेल श्रमजिवी पत्रकार ऐन अनुसार पत्रकारले सेवा सुविधा पाउनु पर्ने बताएका छन् । सिन्धुली जिल्लाको ऐतिहासिकस्थल सिन्धलीगढीमा सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासं (फोनिज) को ४५ औ राष्ट्रिय भेलाको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । पत्रकार र राजनीतिक दलसँगै लडेर गणतन्त्र आएको चर्चा गदउनले अहिलेको संविधान र व्यवस्था ल्याउन पत्रकारको पनि रगत बगेको बताए ।
उनले पृथ्वीनारायण शाह र बंगु गुरुङको शालिक सिन्धुलीगढीमा बनाईनु पर्ने चर्चा गर्दै सबैको ईतिहासलाई सम्मान गर्नु पर्ने बताए । पत्रकारको बिमा र उपचार कोषको लागि कार्य्विधि भर्खरै पास भएको उनको भनाई छ । कमलामाई नगरपालिकाका मेयर खडगबहादुर खत्रीले सिन्धुलीगढीमा भएको आदिवासी जनजाति पत्रकारको राष्ट्रिय भेलाले गरिमा बढेको चर्चा गर्दै पर्यटन प्रबद्धनमा निकै सहयोग पुग्ने बताए । उनले सिन्धुलीगढीको ऐतिहासिक महत्वमाथि प्रकास पार्दै स्थानीय सरकार आएपछि गढीको संरक्षण र सम्बद्र्धन हुदै आएको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र मौलिक अधिकारको संरक्षणका लागि नेपाल पत्रकार महासंघ प्रयासरत रहेको बताए । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले समितिले दुई वर्षको कार्यकालमा पत्रकारको न्युनतम पारिश्रमिक बृद्धि गरेको, पारिश्रमिक भुक्तानीको सुनिश्चितताको लागि बैंकिङ प्रणाली लागू जस्ता महत्वपूर्ण कार्य गरेको बताए ।
प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले अहिले पनि पत्रकारले समाचार लेख्दा थुरथुर काम्नु पर्ने अवस्था रहेको चर्चा गर्दै राजा फालेर गणतन्त्र ल्याउदा धेरै राजा जन्मिएका बताए । फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोलन्जोर गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्की, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन कार्की लगायतले भेलाको महत्वमाथि प्रकास पारका थिए । “सञ्चारमा समावेशिता कानुन चाहियो, व्यवहार पनि चाहियो” भन्ने मूल नाराका साथ सुरु भएको दुई दिने उक्त भेलामा फोनिजका ५६ जिल्लाका जिल्लाका अध्यक्ष, संघिय समिति, सल्लाहाकार समिति र सात वटै प्रदेशका अध्यक्षको सहभागिता रहेको फोनिज सिन्धुलीका जिल्ला अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिए ।