मन्थलीमा विपद पुर्वतयारी सम्बन्धी अभिमुखीकरण तालिम

  • प्रकाशित मिति: शनिबार, पुष ५ २०७६
  • तामाकोशी

रामेछाप । पौष ५ गते,
रामेछापको सदरमुकाम मन्थलीमा बालक्लबका सदस्यहरुका लागि विपद पुर्वतयारी सम्बन्धी अभिमुखीकरण तालिम शनिबार सम्पन्न भएको छ । संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय जर्मनी र तेर दे जोम्स जर्मनीको आर्थिक सहयोगमा सामुदायीक विकास समाज मन्थली, सृजनशील युवा समाज र सामुदायीक जनशक्ति विकास कार्यक्रम गोल्माटारको सहजिकरणमा सञ्चालित वातावरण संरक्षण परियोजनाले मन्थली नगरपालिका वडा नं १ देखी ५ सम्मका विभिन्न विद्यालयमा रहेका बालक्लबहरुका सदस्यका लागि तालिमको आयोजना गरेको हो । तालिममा विभिन्न विद्यालयका बालक्लबका सदस्य र समुदायीक स्तरका बालबालिका गरी ३५ जना भन्दा बढिको सहभागिता रहेको वातावरण संरक्षण परियोजना रामेछापका संयोजक विनोद थापाले जानकारी दिए । विपद पुर्व तयारी कसरी गर्न सकिन्छ , विपदका समयमा कसरी सुरक्षित हुने र सुरक्षित विद्यालयका सूचकहरुका बारेमा छलफल गरी विपद पुर्वतयारीका बारेमा अभ्यास समेत गराइएको तालिमको सहजिकरण वातावरण संरक्षण परियोजना रामेछापका संयोजक विनोद थापा र बालबालिका संयोजक बलराम लामाले गरेका थिए ।