बढी भाडा लिएको टिकट उपलब्ध गराउँन यात्रुहरुलाई रामेछाप प्रहरीको आग्रह

  • प्रकाशित मिति: सोमबार, असोज १३ २०७६
  • तामाकोशी

रामेछाप । असोज १३ गते,
जिल्ला प्रहरी कार्यालय रामेछापले बढी भाडा लिएको टिकट प्रहरीलाई जानकारी गराउन यात्रुहरुलाई आग्रह गरेको छ । जिल्लाबाट काठमाण्डौँ लगाएत विभिन्न स्थानमा चल्ने यातायतले बढी भाडा लिनेगरेको गुनासो आएपछि प्रहरीले यस्तो आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्रका लागि भाडा दर निर्धारण गरेपनि धेरै सवारी साधनहरुले बढी भाडा असुल्न छाडेका छैनन् ।
दुई बर्ष अघिदेखि नै रामेछाप–काठमाडौं सञ्चालन हुने टाटासुमोहरुले तोकिए भन्दा ८१ रुपैयाँ भाडा लिदै आएका छन् । त्यसैगरी ग्रामिण क्षेत्रमासम्म पुग्ने सवारी साधनहरुले तोकिए भन्दा तेब्बर भाडा लिने गरेको गुनासो आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष कुमार भट्टराईले सवारी साधनले तोकिए भन्दा बढी भाडा लिन नपाउने बताए । उनले बढी भाडा लिए टिकट प्रहरीलाई उपलब्ध गराउन आग्रह गरे ।
टिकट उपलब्ध गराउँने यात्रुको नाम गोप्य राखिदै बताउदै उनले गुनासो भन्दा पनि प्रमाण सहित प्रहरीलाई जानकारी गराउन आग्रह गरे । सवारी साधनहरुले यात्रुसँग बढि भाडा लिए , क्षमताभन्दा बढि यात्रु बोके , आरक्षण सिट नदिए , मादक पदार्थ सेवन गरी सवारी चलाए , सवारीको बिलबुक र चालकको लाईसेन्स विना सवारी चलाएको थाहा पाए , यात्रुलाई गन्तव्यमा नपुराइ विचबाटोमै छोडिदिने जस्ता विभिन्न प्रकारका समस्याहरु भएमा , देखेमा वा थाहा पाएमा गुनासो गर्न सकिने गरी रामेछापको मन्थली बसपार्क र सेलेघाँटमा ‘नागरिक सहायता कक्षनै स्थापना गरिएको छ । यात्रुहरुले काठमाडौंबाट मन्थलीसम्मको भाडा ४ सय १९ रुपैयाँमा आएको अवस्थामा मन्थलीबाट काठमाडौं जानेलाई पनि अनिवार्य रुपमा सोही भाडामा यात्रुहरुलाई पठाउन सकिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।