भदौ २४ देखि कांग्रेसकाे दोस्रो चरणको जागरण अभियान: कार्यक्रम यस्तो छ

  • प्रकाशित मिति: बिहिबार, भाद्र १९ २०७६
  • तामाकोशी

काठमान्डौ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जनजागरण अभियानको प्रारम्भ गर्ने भएको छ। पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँँग्रेसले १०६ औं वीपी जयन्तीको अवसरमा जागरण अभियान सञ्चालन लागेको जानकारी दिएको हो।

१५ दिनसम्म सञ्चालन गरिने जागरण अभियानको १५ उद्देश्य रहेको र एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने जानकारी पनि कांग्रेसले दिएको छ। जागरण अभियानको अन्तिम दिन कांग्रेसले ७७ जिल्लाका सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। बढ्दो महंगी,भ्रष्टाचार, महिला हिंसा, बलात्कार, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारको कुशासनका विरुद्ध पाँच मुद्दामा केन्द्रीत रहेर सरकारको विरोध गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।



यसैगरी जागरण अभियानमार्फत पार्टीमा नयाँ सदस्यता व्यापक वितरण गरी सदस्य संख्या बढाउने र आपत विपतका बेला पार्टीको स्वयंसेवक दल गठन गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ। साथै अभियानबाट सहिद परिवारको घरघरसम्म पार्टीलाई पुर्‍याएर उनीहरुको पीरमर्का सुन्ने र सुझाव लिने प्रवक्ता शर्माले बताए।

पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरुले पार्टीको पहिलो चरणको जागरण अभियानका दौरान ३१ हजार ६ सय ४४ जनाले पार्टीको सदस्यता लिएको जानकारी दिएका थिए। उनीहरुले दोस्रो चरणमा अझै बढी व्यक्तिले कांग्रेसको सदस्यता लिने विश्वास व्यक्त गरे। दुई तिहाईको कम्युनिस्ट सरकारले शासन सम्हालेको दुई वर्ष समेत पुग्नु अघि नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा समाजमा बढ्दै गएकाले यस्तो परिस्थितिमा जागरण अभियानको क्रममा कांग्रेस देशव्यापी रूपमा समाजिक संवादमा सहभागी हुने प्रवक्ता शर्माले बताए।

७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा हुने उक्त अभियान २४ भदौ सुरु भइ १० असोजमा समापन हुने छ। यसअघि काँग्रेसले ७७ वटै जिल्लामा पहिलो चरण अन्तर्गत २५ बैशाखबाट २५ जेठसम्म एक महिने जागरण चलाएको थियो।

कांग्रेसले आफ्ना नेतालाई लामो समय लिएर भाषण गर्न रोक लगाएको छ।निर्वाचन क्षेत्र लक्षित गरेर दोस्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गरेको कांग्रेसले केन्द्रबाट खटिएर जाने नेतालाई ‘कम बोल्न, धेरै सुन्न’ निर्देशन दिएको हो।  कांग्रेस नेता विमलेनद्र निधिले दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेस एकढिक्का भएको सन्देश पनि प्रवाह गर्ने जानकारी दिए।

पत्रकार सम्मेलनमा उपसभापति विजयकुमार गच्छदार,महमन्त्री शशांक काेइराला, पूर्णबहादुर खड्का लगायतका नेताहरू सहभागी थिए।