रामेछाप । साउन ८ गते,
नेकपाका नेता हरिवोल गजुरेलले पार्टीलाई गतिदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सच्चिनु पर्ने बताएका छन् । कम्युनिष्ट पार्टी समाप्त भएर जाने खतरा बढेको भन्दै यसलाई जोगाउन सबैभन्दा पहिला प्रचण्ड सच्चिनु पर्ने गजुरेलले बताए ।
पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४१ औ स्मृति दिवसको अवसरमा उनको जन्मथलो रामेछापको भंगेरीमा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीका नेताहरुको कार्यशैलि आशाजनक नरहेको बताए । पार्टी एकिकरणको लागि नै एक वर्ष लाग्नु यसको दृष्टान्त भएको उनको भनाई थियो । आपूm र आफ्ना गुटका मान्छेलाई कसरी नेतृत्वमा पुर्याउने भनेर नेताहरु दाउपेचमा लागेको उनले बताए । पार्टीमा त्यागि र वलिदानी मान्छेहरु पाखा लाग्दै जाने र अवसरवादीहरुको हावी हुँदै जाने प्रवृत्ति बढेको भन्दै उनले गुनासो गरे । विगतमा केशरजंग रायमाझी प्रवृत्तिको हालिमुहाली बढ्दा पुष्पलाल जस्ता त्यागि नेताहरु पाखा लागेर कम्युनिष्ट आन्दोलन समाप्त भएको स्मरण गर्दै उनले फेरी त्यस्ता दिन नआउलान भन्न नसकिने बताए । 
कार्यक्रममा नेकपा नेता वेदुराम भुषालले पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मात्र नभएर नेपाली कम्युनिष्ट आन्दोलनका पीता भएको बताए । पुष्पलाल नेपालको कम्युनिष्ट पार्टीको शिद्धान्तकार समेत भएको उनले बताए ।
कार्यक्रममा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले पुष्पलालको जन्मथलो भंगेरीलाई कम्युनिष्टहरुको पवित्र तिर्थस्थलको रुपमा विकास गर्ने सोचका साथ सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरि संग्रहालय, पार्क, तालिमहल लगायतका संरचना निर्माणको काम थालेको बताए ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज देवशंकर पौडेल, केन्द्रिय सदस्य विष्णु रिजाल, संघिय सांसद श्यामकुमार श्रेष्ठ, प्रदेश सांसद शान्तिप्रसाद पौडेल, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान लगायतका नेताले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गरेका थिए । सोही कार्यक्रममा कम्युष्टि आन्दोलनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
नेकपालाई गति दिन प्रचण्ड सच्चिनु पर्छ : नेता हरिवोल गजुरेल
- प्रकाशित मिति: बुधबार, साउन ८ २०७६
- तामाकोशी