मन्थली क्याम्पसले गुणस्तरीय सुनिश्चितता प्रत्यायान प्राप्त गर्दै,अन्तिम अनुगनका लागि टोली आउँदै

  • प्रकाशित मिति: शनिबार, बैशाख १४ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख १४ गते,
रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस गुणस्तरीय सुनिश्चितता प्रत्यायान प्राप्तको अन्तिम चरणमा पुगेको छ । क्याम्पसले शनिबार पत्रकार सम्मेलन गरी जिल्ला भरका ११ ओटा क्याम्पस मध्ये आफूलाई गुणस्तरिय शिक्षाको क्षेत्रमा अग्रणी बनाउदै गुणस्तरीय सुनिश्चितता प्रत्यायान प्राप्तका लागि अहिले भैरहेको आवश्यक कामका बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा पुर्व क्याम्पस प्रमुख टंक प्रसाद दाहाले मन्थली नगरपालीकाले दिएको १५ लाख र तीन नम्बर प्रदेश सरकारले दिएका २५ लाख रकमबाट क्याम्पसको भौतिक निर्माण तथा सुधारका काम भईरहेको बताए ।
बिगत ८ बर्षदेखी क्याम्पस गुणस्तरीय सुनिश्चितता प्रत्यायान प्राप्त गर्न लागि परेको उनको भनाई छ । उनले क्याम्पसको अवस्था र सहयोग गर्नु पर्ने आवश्यक कारण र सरोकारवालाहरुको चासोका बारेमा बुझ्न त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट आईतबार प्रोफेसर डा. दिनेशराज पन्तको नेतृत्वमा बिज्ञहरुको टोली मन्थली आउन लागेको पनि बताए । पत्रकार सम्मेलनमा क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र वियोगीले गुणस्तरीय सुनिश्चितता प्रत्यायान प्राप्त गर्न विगत लामो समयदेखी लागि परेको भन्दै यो प्राप्तका लागि सवै लागिपर्नुपर्ने बताए । उनले यदि गुणस्तरीय सुनिश्चितता प्रत्यायान प्राप्त गर्न नसकिए क्याम्पस संचालन गर्न नसकिने समेत बताए । पुर्व क्याम्पस प्रमुख गुन्ज बहादुर श्रेष्ठले पनि गुणस्तरीय सुनिश्चितता प्रत्यायान प्राप्तका लागि क्याम्पसले धेरै समय गुजारेको भन्दै अब यो पुरा हुने समय आएको बताए । उनले गुणस्तरीय सुनिश्चितता प्रत्यायान प्राप्तीका लागि आवश्यक प्रक्रिया र पुर्वाधार पुर्ण भैसकेको भन्दै त्रिभुवन विश्वविद्यालयबाट हुने अन्तिम अनुगमन बाकि रहेको बताए ।
२०५७ सालमा स्थापना भएको मन्थली क्याम्पसमा हाल मानविकि, शिक्षा संकाय, विज्ञान, ब्यवस्थापन लगायतका विषयमा पठन–पाठन भइरहेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट आउने अनुगमन टोलीले क्याम्पसको अवस्थाको गहिरो अध्ययन र अनुगमन गरि क्याम्पस प्रशासन र सबैखाले सरोकारवालाहरु सँगको सहभागितामा क्याम्पसलाई थप सहयोग पुग्ने बिषयमा छलफल समेत गरिने क्याम्पस प्रमुख ऋषि कार्कीले जानकारी दिए । हाल मन्थली क्याम्पसमा विभिन्न विषमा जिल्ला भरका ५ सय ४१ जना विद्यार्थीहरु अध्ययनरत छन् ।