मनोज भट्टराई
ओखलढुङ्गा, माघ ३ गते ।
ओखलढुङ्गाका १३ वटा वडामा आलु जोन कार्यक्रम लागु हुने भएको छ । नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाका ११ वडामा चालु आर्थिक वर्षबाट लागु हुनेगरी कार्यक्रम सुरु भएको हो । बुङ बनाएर अर्गानिक आलु खेती गर्ने क्षेत्रलाई लक्षित गरेर ओखलढुङ्गामा आलु जोन कार्यक्रम सुरु भएको हो । आलु जोन कार्यक्रमका लागि खिजिदेम्बा गाउँपालिकाका ६, ७, ८ र ९, मोलुङ गाउँपालिकाका ६, ७ र ८, सिद्धिचरण नगरपालिकाका ५, ६ र ७, र चिशंखुगढी गाउँपालिकाको ७ नं. वडालाई समेट्ने तय भइसकेको छ । नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चालु आर्थिक वर्षबाट लागु हुनेगरी कार्यक्रम सुरु भएको हो ।
तत्कालीन कृषि विकास कार्यालयले संकलन गरेको तथ्यांकअनुसार जिल्लामा २ हजार ९४७ हेक्टर क्षेत्रमा आलु खेती गरिँदै आएको छ । जसमध्ये २ हजार मिटरभन्दा माथि आलु खेती गर्ने क्षेत्र १ हजार ४६३ हेक्टर क्षेत्र रहेको छ । गतवर्ष मात्रै २ हजार मिटरभन्दा माथि उत्पादन भएको ४ करोड मूल्य बराबरको पासाङ रातो जातको आलु निर्यात भएको थियो । यहाँ उत्पादित बुङको आलु तराईका जिल्लाहरु र भारतमा निर्यात हुँदै आएको छ ।
जिल्लामा कृषि ज्ञान केन्द्रसँगै आलु जोन कार्यक्रमको कार्यालय पनि स्थापना भएको छ । जसले जिल्लाका २ हजार मिटर भन्दा माथिका भूभागमा आलु जोन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । जिल्लाका सबैजसो क्षेत्रमा आलुखेती हुने भएपनि आलु जोन कार्यक्रम लेकाली क्षेत्रमा मात्रै लागु गर्ने तयारी गरिएको हो । कार्यक्रमका लागि छनोट गरिएको क्षेत्र बुङ बनाएर आलु रोप्ने र अर्गानिक आलु उत्पादन गर्ने क्षेत्रका रुपमा परिचित छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जिल्लामा २०७२÷७३ सालबाट सुरु भएको भएपनि आलु जोन कार्यक्रम चालु आर्थिक वर्षबाट लागु गर्नेगरी स्वीकृत भएको थियो । यसको चालु आर्थिक वर्षको बजेट १ करोड २० लाख रुपैयाँ रहेको छ । डाँडापाखामा झारपातको साना–साना ढिस्को बनाएर आगोले जलाएपछि रोपिएको आलु नै बुङको आलु हो । यो आलु पूर्णतया अर्गानिक हुने किसानहरुको दाबी छ । आलु जोन कार्यक्रम सुरु भएपछि किसानहरु हर्षित भएको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाको भनाई छ ।
परियोजनाले सुरुमा ब्लक र पकेट क्षेत्रमा हात हालेको थियो, अब बुङमा उत्पादित आलुमा भ्यालु एड् गर्ने हिसाबले कार्यक्रम सुरु भएको कृषि ज्ञान केन्द्र आअेख लढुङ्गाका प्राविधिक सहायक हेम आलेले बताए । जिल्लामा पासाङ रातो, खुम्बुले, भोताङे, नाम्चेली गोलो, नाम्चेली लाम्चो, खुमल सेतो, कुप्रीज्योतिलगायतका जातका आलु बढी रोप्ने गरिन्छ । जसमध्ये पासाङ रातो आलु लोकप्रिय भएपनि मूल्य अन्य आलुको तुलनामा धेरै फरक छैन । यहाँ सिजनमा पासाङ रातो आलु ५० देखि ७० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ । अन्य जातका आलु ४० देखि ६० रुपैयाँ प्रतिकिलो पर्ने गर्छ । बुङको आलु लोकप्रिय भएपनि भाउ नपाउँदा धेरै किसानहरु मारमा परेका थिए भने यो कार्यक्रमले उत्पादन, प्रशोधन र बजारीकरण समेत हेर्ने भएकाले किसानलाई राहत दिनसक्ने आलु जोन कार्यक्रमका प्रमुख सूर्यबहादुर थापाले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना १० वर्षे परियोजना हो । २०७३ सालबाट सुरु भएको कार्यक्रम २०८२ असारसम्म रहनेछ । आयोजनाले कृषि मूल्य श्रृङ्खलाको एकीकृत संयोजन र परिचालनमार्फत् खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकीकरण उन्मुख दीगो आर्थिक अवसरहरु सृजना गरी देशको विकासमा टेवा पु¥याउने लक्ष्य राखेको छ । यस परियोजनाले पकेट, ब्लक, जोन र सुपरजोन निर्माण गरी उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्नेछ ।