रामेछाप । पौष १५ गते,
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका बिजुलीकोटमा जिल्लामै पहिलो पटक घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरिएको छ । मेडयर नेपाल काठमाडौको आर्थिक सहयोगमा सामुदायिक विकास समाज सि.डि.एस रामेछाप द्धारा संचालित आवास पुननिर्माण सहायता परियोजना मार्फत निर्माण सम्पन्न तीन सय घरको निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरिएको हो । आइतबार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साविकको बिजुलीकोट गाउँविकास समिति वडा नम्बर ३ र ६ का निर्माण सम्पन्न भएका ३ सय घर मुलीलाई निर्माण सम्मपन्न प्रमाण पत्र वितरण गरिएको हो ।

लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लिला बहादुर बस्नेतको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आयोजना रामेछापका 
प्रमुख कृष्णलाल पीया र भवन विभागका प्रमुख प्रभाकरलाल कर्णले घर निर्माण सम्पन्न प्रमाण पत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण गर्दै गाउँपालिका प्रमुख खड्काले जिल्लामै पहिलो पटक आफ्नो गाउँपालिकामा घर निर्माण प्रमाणपत्र वितरण हुदा निकै खुशी लागेको बताए ।
अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आयोजना रामेछापका प्रमुख कृष्णलाल पीयाले पनि रामेछापमा पहिलो पटक राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्न पाउँदा खुशी लागेको बताए । उनले यो प्रमाणपत्रले ऋण लिन लगाएत अन्य कामका लागि पनि महत्वपुर्ण काम दिने भएकाले सुरक्षित राख्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा भवन विभागका प्रमुख प्रभाकर लाल कर्णले रामेछापमा झण्डै ७० प्रतिशत घर निर्माण सम्पन्न भएको भन्दै सबैभन्दा बढि लिखुतामाकोसी गाउँपालिकामा घर बनेको बताए । जिल्लाको सबै स्थानीय तहसंग पुननिर्माणका बारेमा थप छलफल भैसकेकाले अब जिल्लाको पुननिर्माणले अझ गति लिने उनको भनाई छ । कार्यक्रममा मेडयरका देबराज गौतमले सबैको सहयोगमा घर निर्माणको काम सम्पन्न सबैलाई धन्यवाद दिए । सि.डि.एस रामेछाप द्धारा संचालित आवास पुननिर्माण सहायता परियोजना संयोजक सन्तोस सिन्जालीले साविकको बिजुलीकोट गाविस वडा नम्बर ३ र ६ मा ३ सय १० घर बन्नु पर्नेमा अहिले ३ सय सम्पन्न भएकाले प्रमाणपत्र वितरण गरिएको र बकी घरहरुमा पनि निर्माणको काम जारी रहेको जानकारी दिए ।
घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल लगाएत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आफुले बनाएको घरको भूकम्प प्रतिरोधी घर प्रमाणित प्रमाणपत्र पाउँदा स्थानीयहरु निकै हर्शित थिए ।