सर्लाही, पत्थरकोटस्थित रामबहादुर बमजन आश्रमबाट २०७४ जेठ र असारमा १० जना आनीहरू भागे। उनीहरू सांसारिक जीवन त्यागेर आश्रम पुगेका थिए। विवाह नगर्ने र जीवनभर आनी बन्ने उनीहरूको निधो थियो। बमजनलाई गुरू, अझ कतिले त भगवानै मान्थे। तर, दुई वर्ष नपुग्दै उनीहरू भागेर आ-आफ्नै घर फर्किए। ती दस जनामध्ये तीन जनालाई बमजनले थर्काउँदै, फकाउँदै फिर्ता लगेका छन्।
भागेकामध्ये तीन जना आनीलाई हामीले छुट्टाछुट्टै भेटेर सोध्यौं- उनीहरूले बमजनको आश्रममा के देखे? त्यहाँ बस्दा उनीहरूले के गर्नुपर्थ्यो? आनी गंगामाया तामाङले बमजनमाथि सार्वजनिक रूपमा लगाएको बलात्कार आरोपमा कति सत्यता छ? उनीहरू कसरी भागे?
हामीले भेटेर यी प्रश्न सोधेकामध्ये एक हुन्, १५ वर्षीया सरिता पाख्रिन। उनी १३ वर्ष उमेरमा बमजनको आश्रममा गएकी थिइन्। पत्थरकोटमा एक वर्षभन्दा बढी र सिन्धुली आश्रममा दुई महिनाजति बसिन्। उनी पत्थरकोट जाँदा त्यहाँ १७ जना आनी थिए। १४ जना भर्खर गएका थिए, तीन जना पुराना। पुरानामध्ये गंगामाया तामाङ पनि थिइन्।
आश्रममा सरिताजस्तै कलिला नानीहरू मैत्री धर्मको ज्ञान लिन र आनी बन्न पुगेका थिए। तर, त्यहाँ धर्म र ज्ञानको कुरै हुन्नथ्यो। ‘आश्रमभित्र खेतबारी थियो। खन्ने, बाली/तरकारी लगाउने काम गर्थ्यौं। घरको काम पनि गर्नुपर्थ्यो। भान्छाको काम सबै आनीहरूले नै गर्ने हो,’ सरिताले सम्झिइन्, ‘हामीले चेलाहरूका लागि पनि खाना पकाउनुपर्थ्यो।’ केही आनीले बमजन र उनकी श्रीमतीको स्याहारसुसार गर्नुपर्थ्यो। धर्मबारे उनीहरूलाई कसैले पढाएन। त्यहाँ मैत्री धर्मसम्बन्धी एउटा किताब हुन्थ्यो। त्यो पनि आफैं पढ्ने हो। लामा भाषामा लेखिएकाले धेरै आनीले त्यो किताब पढ्न सक्थेनन्। बमजनबारे लेखिएको किताब पनि पढ्नुपर्थ्यो।
उनीहरूले ‘गुरू’ सँग आफूहरूलाई ज्ञान दिने कक्षा व्यवस्था गर्न माग नराखेका हैनन्। बमजन यसबारे कहिल्यै गम्भीर भएनन्। उनले आनीहरूलाई कहिलै पढाएनन्। प्रवचन पनि दिएनन्। उनी तपस्यामा लीन भएको पनि आनीहरूले कहिल्यै देखेनन्। सरिताका अनुसार आनीहरूले कचकच गरेपछि एकदिन बमजनले भने, ‘तिमीहरूलाई ज्ञान किन चाहियो? भाग्नलाई?’गुरूले कहिलेकाहीँ ‘सम्झाउने’ गरेको सरिताले बताइन्।
‘त्यहाँ गल्ती गर्ने आनीलाई सम्झाउने हो गुरूले। त्यो बेला उहाँलाई रिस उठ्यो भने पिटाइ भेटिन्थ्यो,’ उनले भनिन्। उनका अनुसार आफूमाथि प्रश्न गर्ने वा गल्ती गर्ने आनीहरूलाई बमजन खुब पिट्थे। सरिताले एकपटकको घटना सम्झिइन्। दुई जना आनी मनमाया र पेम्बाले घर जान मन लागेको कुरा बमजनसमक्ष राखे। उनले प्रश्न गरे, ‘किन जाने? केही कारण नभई पठाउँदिनँ।’
‘कारण केही छैन गुरू,’ मनमायाले टाउको झुकाउँदै सुस्तरी भनिन्। ‘कारण भन्ने भए भन्, नभए मेरो नियम अर्कै छ,’ बमजनले धम्कीपूर्ण लवजमा भने। ‘बस्न मन छैन,’ मनमायाले भनिन्। ‘घरबार त्यागेर आनी बन्न आएपछि बुबाआमाको जस्तो माया पाइँदैन। त्यस्तो खोज्नु पनि हुन्न,’ बमजनको स्वर उचो हुँदै गयो।
मनमयाले भनिन्, ‘आश्रममा बस्न मन भएन।’ बमजन उठेर उनीहरूको नजिकै आए। झ्याम्मै गालामा हाने। ‘गुरूले मनमाया र पेम्बा आनीलाई पालैसँग पिट्नुभयो। आनीहरू ढलपल ढलपल भएर लडे,’ सरिताले भनिन्, ‘गुरूको हात हेर्दै बलियो थियो। मलाई सम्झिँदा अहिले पनि डर लाग्छ।’
केही समयपछि मनमायाका बुबाआमा आश्रम आए। मनमायाले आफू आश्रममा बस्न नसक्ने बताइन्। बुबाआमाले भने आफूहरू पनि सांसारिक जीवन त्यागेर ‘त्यागी’ बन्न आश्रममै आउन लागेको सुनाए। ‘मनमाया आनी रुनुभयो, पछि चुपचाप बस्नुभयो,’ सरिताले भनिन्।
बमजनले गंगामायालाई आश्रमबाट निस्केर जान धेरैपटक भनेको सरिताले सुनेकी थिइन्। ‘गंगा आनीलाई एकपटक टर्च चोरेको आरोप लगाइएको थियो। त्यो झुटो आरोप हो भन्ने हामी सबैलाई थाहा छ,’ सरिताले भनिन्। गुरूले गंगाका बुबालाई बोलाएर उनलाई घर पठाउन पनि खोजे। तर, गंगा जान मानिनन्। बमजनले एकदिन गंगालाई बोलाए। ‘हामी सबै आनीहरू गंगा आनीकै पछिपछि गयौं,’ सरिताले भनिन्, ‘गुरूले गंगालाई फेरि भने- घर किन नगएको? घर जा।’
गंगाले यत्ति उत्तर दिइन्, ‘म जान्नँ।’
बमजनले फेरि भने, ‘भागेर जा।’
‘त्यो दिन गुरूले गंगा आनीलाई धेरै जान्ने भइस् भने तेरो भाइ र बाबालाई मारिदिन्छु पनि भनेका थिए,’ सरिताले भनिन्। आनीहरूले प्रतिवाद गरे, ‘गंगाको के गल्ती छ र जाने गुरू?’ गुरूले आँखा तर्दै भने, ‘तिमीहरू पहिले सबै पत्थरकोट जाओ। गंगा आश्रम छाडेर जा। ऊसँग मिल्नेहरु सबै जाओ। मलाई विश्वास गर्ने मात्रै बस।’
अर्की आनी जमुनाले अघि सरेर गुरूलाई सोधिन्, ‘गंगाको के गल्ती छ?’ त्यसपछि बमजनले जमुनालाई ड्याम्मै हिर्काए। सरिताका अनुसार त्यो दिनको झगडामा गंगाले बमजनलाई हाँकै दिइन्। ‘मेरो शरीर पहिले जस्तो थियो, त्यस्तै बनाएर दे, अनि म यहाँबाट जान्छु,’ गंगाले भनेको सम्झिँदै सरिताले भनिन्।
गंगाले त्यो दिन बमजनलाई त्यसरी लल्कारेको अर्की आनी शर्मिलाले पनि पुष्टि गरिन्। शर्मिलाले गंगामाया र गुरूबीचको नोकझोँक पहिले पनि देखेकी थिइन्। गंगामायाले नयाँ आनीहरूलाई गुरूछेउ नजानू भनेको धेरैपटक सुनेकी थिइन्।
शर्मिलालाई त्यो बेला गंगाले गुरुको कुरा काटेको, उनका विरूद्ध कुरा गरेको मन परेको थिएन। ‘म त सोच्थेँ, यो गंगा आनी के भा’को होला! गुरूविरूद्ध पनि बोल्छ, गुरूसँग झगडा गर्छ,’ उनले भनिन्। हामीसँग कुरा गर्दै शर्मिलाले आफू सुरुमा आश्रम जाँदाको घटना सम्झिइन्। ‘म त सांसारिक जीवनमा नफर्किने, धर्म कमाउने, आनी बन्ने भनेर त्यहाँ गएको थिएँ। गुरूलाई भगवान मान्थेँ। गुरूप्रति धेरै नै बफादार थिएँ। त्यसैले, गंगा आनीले गुरूको विरोध गर्दा मलाई ननिको लाग्थ्यो,’ उनले भनिन्।
‘गुरूनजिक अरू आनी आउँछन् भनेर गंगालाई डाहा भएको होला भन्ठान्थेँ नि म त,’ शर्मिलाले अगाडि थपिन्, ‘गुरू नै भगवान हो भन्ने विश्वास थियो, त्यसैले गंगालाई विश्वास गर्दिनथेँ।’बमजनप्रति बफादारीकै कारण उनी धर्मकर्म र आश्रमका काममा दत्तचित्त थिइन्। बिहान साढे ४ बजे उठ्ने नियमै थियो। आधा घन्टा हातमुख धुने, ब्रस गर्ने। ५ देखि ६ बजेसम्मको समय पुस्तक पढ्ने। भान्छा आनीहरूले नै बनाउनुपर्थ्यो। दिउँसो आश्रमको काममा जुट्नुपर्थ्यो।
शर्मिला कुनै गुनासो नगरी काम गर्थिन्। ‘काम त कति हो कति। जुन आश्रममा गए पनि कामै काम,’ उनले भनिन्। आश्रमको काम उनका लागि धर्मकै अंग थियो। भगवानमा समर्पित हुने माध्यम। ‘ओहो! हामीले त्यहाँ कति काम गर्यौं! छाकमा ३०/३५ जनालाई पकाउनुपर्थ्यो। बारीमा तरकारी रोप्ने, धान रोप्ने, अरू खेती लगाउने, उठाउने। दाउरा काट्ने। धर्मका लागि भनेर हामीले के के गरेनौं? जोडैले काम गरेम्,’ उनले भनिन्।
दस कक्षासम्म पढेर आश्रम गएकी शर्मिलाले त्यहाँ पढ्ने किताब सामान्य थिए। तिनमा बमजनको जीवनी हुन्थ्यो। उनको जन्मकथा। पूर्वजन्मकथा। धर्म भने पनि त्यही, ज्ञान भने पनि त्यही। त्यसबाहेक लामा भाषाको अर्को सानो किताब पनि थियो, जुन कमै आनीहरूले बुझ्थे।
बमजन र गंगामायाबीच त्यो दिनको झगडाले शर्मिला ‘तीनछक’ परिन्। गंगाले ‘गुरू’ लाई भनेको सुनेर उनको दिमाग सनन्न भयो रे। ‘गंगा आनी त ठाडठाडै गुरूसँग बाझ्नुभो। तँ पहिले मेरो शरीर जस्तो थियो, त्यस्तै बना अनि म घर जान्छु भन्नुभयो,’ शर्मिलाले सम्झिइन्, ‘हो, त्यो बेला म पहिलोपटक झस्किएँ, के भनेको हो गंगा आनीले भनेर।’ गंगाको हाँक सुनेर बमजन रिसले आगो भैसकेका थिए। उनले आएर गंगालाई झम्टे। हात समातेर ताने। गंगाले पनि बमजनको टाउको लुछिन्। अनुहार चिथोरिदिइन्। ‘म त्यो देखेर खुब डराएँ। सबै आनीहरू रोइरहेका थिए, चिच्याइरहेका थिए। जे भइरहेको थियो, मैले विश्वासै गर्न सकिरहेकी थिइनँ,’ उनले भनिन्।
त्यसैबीच गंगाले चिच्याउँदै भनिन्, ‘यो भगवानको ठाउँ हैन। रण्डीखाना हो। बम्बैको कोठीभन्दा खत्तम ठाउँ हो।’ गंगाको कुराले शर्मिलाको मुटुमा हान्यो। ‘कति समयपछि ब्यूँझिएँजस्तै भएको थियो मलाई,’ शर्मिलाले भनिन्। त्यही घटना भएको साँझ काठमाडौंबाट बमजनकी श्रीमती दिपशिखा आइन्। उनीसँग उनकी आमा पनि थिइन्। सिन्धुली आश्रमको भान्छामा आफ्नै आमाका अगाडि सबै आनीलाई भेला पारिन्। त्यहाँ दिपशिखाले बमजनका यौन दुर्व्यवहारबारे आनीहरूलाई बताइन्। गंगाले किन उनीहरूलाई सधैं सचेत पार्न खोजेकी थिइन् भनेर सम्झाइन्।
दिपशिखाले भनेको सम्झिँदै शर्मिलाले भनिन्, ‘गुरूले धेरै आनीहरूलाई दुर्व्यवहार गरेको छ। तपाईंहरू पनि गुरूको अगाडि एक्लै नजानू। राति एक्लै नहिँड्नू।’हामीले भेटेकी तेस्री आनी सिर्जनाले पनि आश्रममा भएका घटना पुष्टि गरिन्। गंगामाया र बमजनको झगडा परेको दिन सिर्जना काठमाडौंमा दिपशिखासँगै थिइन्। रातोपार्टीबाट साभार,